सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बाढीले जलविद्युत् केन्द्रमा क्षति पुर्‍याउँदा मुगु विद्युतविहीन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ८ २०७९
बाढीले जलविद्युत् केन्द्रमा क्षति पुर्‍याउँदा मुगु विद्युतविहीन

नेपाल विद्युत् प्राधिकरणले क्षति पुगेका संरचनाको पुनःनिर्माण सुरु गरिसकेको छ । केही समयभित्रै  पुनःनिर्माण सम्पन्न गरी विद्युत् आपूर्ति गर्ने लक्ष्यका साथ काम भइरहेको छ।

मुगु- गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युत्गृहमा क्षति पुर्‍याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ। 

गत असोज १९-२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका-४ स्थित विद्युत्गृहको एक हजार एक सय मिटर लामो नहरमध्ये झण्डै सात सय मिटरमा क्षति पुर्‍याएको छ। यसैगरी, बाढीपहिरोबाट  विद्युत्गृहको सबस्टेसनका संरचनामा पनि क्षति पुगेको छ।

बाढीपहिरोले क्षति पुर्‍याएको नहरको पुनःनिर्माण र मर्मत गर्नुपर्ने छ। नेपाल विद्युत् प्राधिकरणले क्षति पुगेका संरचनाको पुनःनिर्माण सुरु गरिसकेको छ । केही समयभित्रै  पुनःनिर्माण सम्पन्न गरी विद्युत् आपूर्ति गर्ने लक्ष्यका साथ काम भइरहेको छ।

वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्तिका लागि प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। 'पुनःनिर्माणलाई तीव्रता दिने र तत्काल विद्युत् आपूर्तिका लागि जेनेरेटर लगेर विद्युत् उत्पादनको प्रयास गरिरहेका छौँं,' उनले भने।  

भौगोलिक रुपमा विकट मुगु जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन। नेपाल विद्युत् प्राधिकरणले चार सय किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको छ। मुगुमा विद्युत् सेवा लिने ग्राहकको सङ्ख्या तीन हजार एक सय छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक ८ २०७९१०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend