सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

जुम्लामा विद्युत् सेवा अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ८ २०७९
जुम्लामा विद्युत् सेवा अवरुद्ध

स्थानीयस्तरमा उत्पादित बिजुली कम क्षमताको छ। अस्पताल, सुरक्षा निकायलगायत विशेष ठाउँलाई प्राथमिकता दिएर वितरण गरिएको छ।

जुम्ला- जुम्ला सदरमुकाम खलङ्गामा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ। गएको असोज १९ गतेदेखि परेको एक साताको अविरल वर्षासँगै आएको बाढीपहिराले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए।

बाढीपहिराले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएको छ। दुई सातादेखि विद्युत् आपूर्ति भएको छैन। विद्युत् केन्द्रका प्रमुख रावलले भने, 'खलङ्गामा दुई सातादेखि नेशनल ग्रीड अवरुद्ध भएपछि स्थानीय घुघुत्ती र जाल्पादेवी साना जलविद्युत् आयोजनाको बिजुली जुम्ला सदरमुकाम खलङ्गामा कामचलाउ वितरण भइरहेको छ। यही बिजुली पनि २४सै घण्टा नियमित आपूर्ति हुने अवस्था छैन।' टोल र क्षेत्र क्लष्टर मिलाएर बिजुली आपूर्ति गर्ने गरिएको प्रमुख रावलले बताए।  

स्थानीयस्तरमा उत्पादित बिजुली कम क्षमताको छ। अस्पताल, सुरक्षा निकायलगायत विशेष ठाउँलाई प्राथमिकता दिएर वितरण गरिएको छ। यहाँका स्थानीयवासीलाई घरमा कम्तीमा मोबाइलसम्म चार्ज गर्न होस् भनेर बिजुली आपूर्ति गरिएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ। 

क्षतिग्रस्त भएको स्थानमा बिजुलीका पोल गाड्ने र तार जोड्ने काम निरन्तर भइरहेको छ। सडक पनि अवरुद्ध भएकाले विद्युत् सामग्री ओसारपसारमा समस्या भएको छ। प्राधिकरणका कर्मचारी विद्युत् मर्मतको काममा लागिपरेको वितरण केन्द्रले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक ८ २०७९०८:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend