बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

चीनको एउटा राज्य जहाँ अमेरिकामा भन्दा बढी ईभी चार्जिङ स्टेसन 

मंगलबार, कात्तिक ८ २०७९
चीनको एउटा राज्य जहाँ अमेरिकामा भन्दा बढी ईभी चार्जिङ स्टेसन 

पुरै अमेरिकामा रहेको सार्वजनिक चार्जिङ नेटवर्कभन्दा ग्वोङडोङ प्रान्तमा ३ गुणा बढी चार्जिङ नेटवर्क रहेको छ।

काठमाडौं- विश्वका देशहरु विद्युतीय सवारी तथा त्यसको पूर्वाधार निर्माणमा आक्राम रुपमा लागेका छन्। क्रमिक रुपमा देशहरुबीच प्रतिस्पर्धा नै हुने देखिएको छ। यो प्रतिस्पर्धा पृथ्वीको तापमानमा भएको वृद्धि कम गर्नका लागि सहयोगी हुनेछ। 

विद्युतीय सवारीको प्रयोग र चार्जिङ पूर्वाधार निर्माणमा युरोप पछि चीन अग्र स्थानमा रहेको छ। अमेरिका, भारतलगायतका मुलुक पनि पछिल्लो समय विद्युतीय सवारीको उत्पादनलाई उच्च प्राथमिकता दिएर नीति निर्माण र कार्यान्वयनमा लागि परेका छन्। 

चीनमा पनि त्यहाँको ग्वोङडोङ प्रान्त सबैभन्दा अग्र स्थानमा रहेको छ। ग्वोङडोङ प्रान्त विद्युतीय सवारीको चार्जिङ पूर्वाधारमा अग्रणी रहेको छ। त्यो भनेको ग्वोङडोङ प्रान्तले बनाएको चार्जिङ स्टेसन सिंगो अमेरिकाले बनाएको भन्दा धेरै रहेको छ। 

ग्वोङडोङ प्रान्तले विद्युतीय सवारी प्रयोगकर्तामा रहेको रेन्ज एन्जाइटी कम गर्न र यसको प्रयोग गर्ने नागरिकको आत्मविश्वास बढाउन उक्त गतिमा चार्जिङ स्टेसन निर्माण गरिरहेको बताएको छ। 

हङकङसँग सीमा जोडिएको ग्वोङडोङ प्रान्तमा लाखौंको संख्यमा सार्वजनिक चार्जरहरु रहेको छन्। ब्लुम्बर्गले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार २०२२ को सेप्टेम्बरसम्ममा ग्वोङडोङ प्रान्तमा ३ लाख ४५ हजार १ सय २६ वटा सार्वजनिक चार्जर र १९ हजार १ सय १६ वटा चार्जिङ स्टेसन रहेका छन्। यो चीनको सबैभन्दा ठूलो चार्जिङ नेटवर्क भएको प्रान्तसमेत हो। 

ग्वोङडोङ प्रान्तले गत वर्षको तुलनामा चार्जिङ नेटवर्क दोबर बढाएर उक्त संख्या पुर्‍याएको हो। पुरै अमेरिकामा रहेको सार्वजनिक चार्जिङ नेटवर्कभन्दा ग्वोङडोङ प्रान्तमा ३ गुणा बढी चार्जिङ नेटवर्क रहेको छ। चीन सरकारले न्यू इनर्जि सवारी र हरित पावरट्रेन्ड विस्तारमा ठूलो लगानी गरिरहेको छ। 

यता अमेरिकी सरकारले हालै ५ अर्ब डलरको विद्युतीय सवारी पूर्वाधार निर्माण गर्ने कानून पास गरेको छ। योसँगै देशभर एकै प्रकारका सवारी चार्जिङ नेटवर्क विस्तारमा सो रकम खर्च हुनेछ। त्यस्तै जर्मन सरकारले पनि गएको साता ६ अर्ब अमेरिकी डलरभन्दा बढी रकम खर्चिएर विद्युतीय सवारी चार्जिङ नेटकर्व बनाउने घोषणा गरेको हो। 

ब्लुम्बर्गका अनुसार हाल अमेरिकामा १ लाख १२ हजार ९ सय वटा सार्वजनिक चार्जर बनाइएको छ। चीनभर भने ११ लाख ५० हजार सार्वजनिक चार्जर रहेका छन्। पछिल्लो १२ महिनामा चीनले ५ लाख ९२ हजार सार्वजनिक चार्जर बनाएको दाबी ब्लुम्बर्गएनईएले गरेको छ। 

हाल चीनमा रहेको संख्या बराबरको सार्वजनिक चार्जिङ स्टेसन तथा चार्जर बन्न अमेरिकामा २०३० सम्म लाग्ने अनुमान गरिएको छ। 


प्रकाशित : मंगलबार, कात्तिक ८ २०७९०५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend