बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालले जस्तै भारतले पनि चिया आयातमा कर लगाउने बाटो खाेज्दै छ

शुक्रबार, साउन २७ २०७९
नेपालले जस्तै भारतले पनि चिया आयातमा कर लगाउने बाटो खाेज्दै छ

चिया निकासीमा देखा पर्नसक्ने समस्याको विषयमा चिया तथा कफी विकास बोर्डले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ। बोर्ड गहन अध्ययन गरिरहेको छ। अहिले भारतमा जुन १५ तारेखमा राज्य सभा अन्तर्गतको एउटा वाणिज्यसँग सम्बन्धित समितिले विभिन्न अध्ययन गरिरहने रहेछ। सोही क्रममा उनीहरूले चियाको विषयमा अध्ययन गरेका रहेछन्।

त्यसमा पनि भारतमा विदेशबाट आयात गरिने चियाको विषयमा अध्ययन गरेका रहेछन्। सोही अध्ययन रिपोर्टमा विदेशबाट आउने चियामा कम गुणस्तर र सस्तो मूल्यको आउँदा भारतीय चियाको ब्रान्ड तथा गुणस्तरमाा असर गरेको उल्लेख गरेका थिए।

भारतमा नेपाल लगायत विभिन्न देशबाट चिया निर्यात हुन्छ। तर भारतले आयात गर्ने चियाको ५० प्रतिशत नेपालबाट नै आयात हुने गरेको भन्दै नेपाललाई बढी नै दोष दिएजस्तो रिपोर्टमा उल्लेख गरिएको छ।

कम गुणस्तरको चिया आएको कारण भारतीय उत्पादित चियामा गुणस्तरमा समेत असर गरेको उनीहरूको निष्कर्ष छ। राम्रो चियालाई मात्रै आउन दिने गरी अनुगमन तथा कडाइ गर्नुपर्ने अध्ययन समितिले तयार पारेको रिपोर्टमा उल्लेख गरिएको थियो।

उनीहरूले परिमाणात्मक प्रतिबन्ध लगाउनु पर्ने आशयसहितको रिपोर्ट तयार पारेका थिए। साथै भारतबाट निर्यात हुने चियामा पनि कर लगाउनु पर्ने विषय रिपोर्टमा उल्लेख छ।

नेपालले भारतबाट चिया निर्यात गर्दा ४० प्रतिशत कर लाग्छ तर नेपालबाट भारतले निर्यात गर्दा भने भारतले कर लिँदैन। उनीहरूले कर लगाएर कम गुणस्तरको चिया आयात रोक्न खोजेको जस्तो देखिन्छ। यसले गर्दा हाम्रो चियाको अस्तित्व पनि जोगिने आशयसहितको प्रतिवेदन तयार पारेका थिए। जुन प्रतिवेदन राज्यसभाको अध्यक्ष र लोकसभाका सभामुखलाई बुझाए।

प्रतिवेदन उनीहरूलाई बुझाएपछि हामीले यसलाई कानूनकै रुपमा ल्याउन खोजेको बुझेका छौँ। त्यो अहिले लोकसभा र राष्ट्रिय सभामा छ। कुनै दिन छलफलपछि पास होला या नहोला आफ्नो ठाउँमा छ। तर हाम्रो देशमा त्रास के फैलियो भने पास भयो भने चिया निर्यातको बजार नै बन्द हुन्छ।

हुन पनि नेपालले गर्ने चिया निर्यातको ८५ प्रतिशत भारतमै निर्यात गरेको छ। वार्षिक ३ अर्ब ७९ अर्ब आम्दानी हुन्छ। यो गुमेको अवस्थामा यो व्यवसाय नै धरापमा पर्ने भन्दै व्यवसायीको चिन्ता हुनु स्वभाविक हो।

यो विषयमा व्यवसायीहरूले उनीहरूको संगठनमार्फत हामीलाई ज्ञापन पत्र पनि दिइसकेका छन्। तर भारतबाट कुनै औपचारिक पत्र आएको भने होइन। यो विषयमा व्यवसायीहरूले प्रधानमन्त्रीसँग पनि छलफल गरिसकेका छन्। बोर्डले पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मन्त्रीसँग पनि छलफल गरिरहेको छ। 

प्रधानमन्त्रीले पनि यो विषयमा चासो देखाउँदै कुटनीतिक रुपमा कुरा गर्ने बताएको विषय बोर्डलाई जानकारी भएको छ। वाणिज्य मन्त्रालयले पनि यस विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताएको छ।

गुणस्तरको विषयमा व्यवसायीले भारतकै ल्याबमा लगेर उनीहरूले तोकेअनुसार परीक्षण गरेर पठाएका छन्। गुणस्तरको विषय नेपालको चियामा समस्या नभएको व्यवसायी र हाम्रो बुझाइ हो। तर भारतीय पक्षले बारम्बार गुणस्तरको विषय उठाएको हुँदा व्यवसायीले पनि गुणस्तरको विषयमा सचेत हुनु पर्छ।

(चिया तथा कफी विकास बोर्डका निर्देशक खनालसँग गरिएको कुराकानीमा आधारित विचार)


प्रकाशित : शुक्रबार, साउन २७ २०७९१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend