बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एक पाइला अघि नबढाउने तर खर्बका कुरा गरेर न निर्यात बढ्छ न आयात घट्छ 

आइतबार, असार १२ २०७९
एक पाइला अघि नबढाउने तर खर्बका कुरा गरेर न निर्यात बढ्छ न आयात घट्छ 

कृषिमा आयात प्रतिस्थापन गर्न सकिन्छ। निर्यात पनि हुन्छ। अहिले लाखौँ नेपाली विदेशमा छन्। कम्तिमा २० लाख बाहिर भएका नेपाली  रैथाने खाना खान रुचाउँछन्। यहाँ चामलदेखि दालसम्म खान चाहन्छन्। उनीहरूलाई जोडेर मात्र निर्यात गर्दा पनि राम्रो लाभ हुनसक्छ। 

पछिल्लो समय नेपालमा धेरै मान्छेलाई बढ्दो व्यापार घाटा हानिकारक हो भन्ने कुरा महसुस भएको छ। बढ्दो आयात र त्यसलाई थेग्नेगरी विदेशी मुद्रा आर्जन नहुँदा घट्दै गएको डलर सञ्चितिका कारणले धेरैमा व्यापार घाटाका बारेमा चासो बढेको छ। 

नीति निर्मातादेखि राजनीतिज्ञसम्म यो विषयमा जागरुक भएका छन्। यो राम्रो कुरा पनि हो। सँगै अर्कोतिर के नेपाल सम्भावना नै नभएको मुलुक हो त? भन्ने खालको प्रश्न पनि सर्वसाधारणमा उब्जिएको देखिन्छ। यस्तो प्रश्नले निराशा जन्माउने खतरा हुन्छ। यसमा हामी सबै सचेत हुनुपर्छ। 

नेपालमा उत्पादन तथा निर्यातको सम्भावना नै नभएको होइन। पहिलो कुरा त हामी के कुरामा प्रष्ट हुनुपर्छ भने हामी खाना र लगाउनका लागि आफै उत्पादन गर्न सक्छौँ। यही कुराका लागि जसरी अहिले खर्बौं विदेशिएको छ यसलाई जोगाउन सकिन्छ। 

आफूलाई पुग्ने उत्पादन गरेपछि निर्यातको कुरा आउँछ। निर्यातको कुरा गर्नेवित्तिकै हामीले दुईवटा कुरालाई ध्यान दिनुपर्छ। पहिलो कुरा भनेको त्यस्तो उत्पादन गर्दा हाम्रो नेपालीले कति रोजगारी पाउँछन्। अर्को कुरा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ नेपालभित्रै पाइन्छ? वा कति कच्चा पदार्थ नेपालकै हो? 

हामीले त्यस्ता वस्तुलाई निर्यातको ग्रिन जोनमा राख्नुपर्छ जो मौलिक उत्पादन हुन्। जसको उत्पादन प्रक्रियामा अधिकतम आम्दानी देशभित्रै बस्छ। नेपालीको गोजीमा त्यसको अन्तिम लाभ पुग्छ। अहिले नै हामीले जडिबुटीलाई कच्चा पदार्थकै रूपमा निर्यात गरेका छौँ। यसले गर्दा पहिलो त हाम्रो आम्दानी न्यून भइरहेको छ अर्कोतिर निर्वाध बजार पनि पाइरहेका छैनौँ। तेस्रो मुलुकमा बजार पाउँदैनौँ, भारतमा अवरोध हुनसक्छ। 

जडिबुटीको प्रशोधनबाट उत्पादन हुने विभिन्न तेल, मसलाजन्य उत्पादनलाई ड्राइ गरेर उपयुक्त समयमा बजार पुर्‍याउने जस्ता सामान्य काममात्र गर्दा पनि हामीले धेरै लाभ लिनसक्छौँ। हाम्रो परम्पारागत सीपमा आधारित कतिपय उत्पादन अहिले पनि तेस्रो मुलुकमा पुगेका छन्। यस्ता उत्पादनलाई व्यवस्थित गरेर भोल्युम पनि सिर्जना गर्न सकिन्छ। 

कृषि उत्पादनमा आधारित उद्योग हामीले राम्रोसँग स्थापना गर्न सक्यौँ भने यसको बजार विश्वमा जहाँ पनि हुन्छ। बजारीकरण गर्न सकियो भने अहिलेभन्दा धेरै लाभ लिन सकिन्छ। यस्ता कामले सुरुमै खर्बौं रुपैयाँ त आउँदैन तर यसले ठूलो उत्पादनको आधार निर्माण गर्छ। यस्तै प्रयासबाट पछि ठूला उद्योग आउने हुन्। तर हाम्रोमा एक पाइला पनि अघि नसर्ने तर कुरा खर्बको गर्ने चलन छ। यो तोड्न आवश्यक छ। 

टेक्स्टायल भ्यालु चेनमा कार्पेट, गार्मेन्ट, धागो , जुत्ता स्वेटर आदि वस्तुहरू छन्। यसमा रोजगारी पनि राम्रो सिर्जना हुन्छ। भ्यालु एडिसन पनि राम्रो हुन्छ। यो क्षेत्रको सम्भावना छ भनेर हामिले नै देखाइरहेका छौँ। टेक्स्टायलको क्षेत्रमा हामीले धेरै गर्न सक्छौँ। जस्तो अहिले संसारमा सिन्थेटिक फाइबरमा नेचुरल फाइबर ब्लेन्ड गर्ने चलन छ। महँगा कपडा यस्तै समिश्रणबाट बनिहरेका छन्। नेपालमा नेचुरल फाइबरको सम्भावना पर्याप्त छ। अल्लो, केरा लगायतका माध्यमबाट हामीले नेचुरल फाइबरको व्यावसायिक उत्पादन गर्न सक्छौँ। हामीले धागोमात्र होइन कपडासमेत निर्यात गर्न सक्छौँ। निर्यात पहिले यो क्षेत्रमा अहिले भइरहेको खर्बको आयातलाई प्रतिस्थापन गर्न सकिन्छ। रोजगारी सिर्जना तथा आम्दानीका दृष्टिले यो क्षेत्रबाट नेपालले राम्रो लाभ लिनसक्छ।  

अर्को भनेको वन पैदावार हो। यहाँ रुख काट्न दिइएको छैन। तर आफै कुहिन्छ। वा तस्करी भइरहेको छ। त्यसलाई व्यवस्थित गरेर व्यवस्थापन मात्र गरियो भने जति खर्ब पैसा पनि आउँछ। त्यहाँ भएका सामुदायिक वनहरूमा धेरै गर्न दिइएको छैन। ससरकारी वन त छुन पनि दिइएको छैन। त्यहाँका जडिबुटी निकालेर र काठमात्र केही गर्न सकियो भने धेरै लाभ हुन्छ। 

म आफैले काम गर्दैछु। कोशीपूर्व धेरै उत्पादन हुनसक्ने अगरउड भन्ने काठ छ। एउटा बोटको ५० हजार पाउँछ। त्यो ८ वर्षमा तयार हुन्छ। बिगाहमा ८ सयसम्म लगाउन सकिन्छ।  पश्चिमका रोल्पा दाङ लगायतका ठाउँमा श्रिखण्ड लगाउन सकिन्छ। एउटा बोटकै ५० हजार आउँछ भने आफ्नो आय बढ्छ। लगाएको बारी नै मास्नु पनि पर्दैन। खेर गएको जग्गामै लगाउन सकिन्छ। यो भविष्यको निर्यात तथा आम्दानी हो। यस्ता कुरामा पनि हामीले काम गर्न सक्छौँ। यस्ता कयौँ अवसर छन् जसबाट जनताले राम्रो आम्दानी गर्न सक्छन्। अन्तत: मुलुकले त्यसको लाभ लिन्छ। 

कृषिमा आयात प्रतिस्थापन गर्न सकिन्छ। निर्यात पनि हुन्छ। अहिले लाखौँ नेपाली विदेशमा छन्। कम्तिमा २० लाख बाहिर भएका नेपाली रैथाने खाना खान रुचाउँछन्। यहाँ चामलदेखि दालसम्म खान चाहन्छन्। उनीहरूलाई जोडेर मात्र निर्यात गर्दा पनि राम्रो लाभ हुनसक्छ। 

अरु उद्योगमा पनि हुनसक्छ। आफ्नै कच्चा पदार्थ नभएपनि उच्च मूल्यअभिवृद्धिका सम्भावना भएका उद्योगमा सम्भावना छ। श्रम धेरै लाग्ने उद्योग यसमा पर्न सक्छन्। अहिले तेलहरू जुन गइरहेको छ यसको ठेगान छैन। सिमेन्ट जतिसुकै राज्यले सिफारिस गरे पनि दीगो छैन। अहिले भारतमा भाउ बढेकाले मात्र हो। 

एक वर्षमा दोबर गर्ने भन्ने होइन। मौलिक उत्पादनलाई जोड दिएमा केहीवर्षमै हामी प्लस हुनसक्छौँ। खान र लगाउन वन र कृषिले पुर्‍याउँछ। यो पालि नीति तथा कार्यक्रममा राम्रै थियो। बजेटमा यस्ता कराले कतै पनि ठाउँ पाएका छैनन्। 

हाम्रो सबै निर्यातको उद्योग छ। तीनवटा उद्योगबाट दुई वर्षमा दोबर गर्नसक्छौँ। धागोमा अहिले ११ अर्ब हुन्छ भने दुई वर्षमा २२ अर्ब पुर्‍याउन सक्छौँ। अहिले १० हजारलाई रोजगारी दिएका छौँ भने २० हजार दिन सक्छौँ। गार्मेन्टसम्म विकास गर्‍यौँ भने अझै बढ्छ। कपडा निर्यात गर्न सक्यौँ भने अझै रोजगारी बढ्न सक्छ। 

(उद्योगपति तथा नेपाल बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरूको संस्थाका अध्यक्षसमेत रहेका गोल्यानसँग गरिएको कुराकानीमा आधारित)

 


प्रकाशित : आइतबार, असार १२ २०७९०८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend