शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बुटिक विमानस्थल : सवा ७ करोडको सहमतिमा ३६ करोड खर्च, इँटामा तेल लगाउन ४ करोड

बिहीबार , असोज ७ २०७८
बुटिक विमानस्थल : सवा ७ करोडको सहमतिमा ३६ करोड खर्च, इँटामा तेल लगाउन ४ करोड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने सकारले स्वीकृति दिएको रकमभन्दा ५ गुणा बढी रकम खर्च भएको तथ्य खुलेको छ।

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने सरकारले स्वीकृति दिएको रकमभन्दा ५ गुणा बढी खर्च भएको तथ्य खुलेको छ। सरकारले बुटिक विमानस्थल बनाउन ७ करोड ३५ लाख रुपैयाँ खर्च गर्न स्वीकृति दिएको थियो। तर तत्कालीन समयमा विमानस्थल कार्यालयमा रहेका उच्चपदस्थ कर्मचारीले आफूखुसी ३६ करोड रुपैयाँ खर्च गरेको तथ्य खुलेको छ। 

२०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद बैठकले बुटिक विमानस्थल निर्माणका लागि ७ करोड ३५ लाख रुपैयाँ खर्च गर्न सहमति दिएको थियो। 

तर विमानस्थल कार्यालयका कर्मचारीले बिना योजना आफूखुसी गर्दै ३६ करोड रुपैयाँ खर्च गरेका हुन्। बुटिक विमानस्थल बनाउने विषय तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले ल्याएका थिए। तत्कालीन समयमा विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्री थिए। क्षेत्री अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक भएका छन्।

सरकारले भिजिट नेपाल २०२० लाई लक्षित गर्दै बुटिक विमानस्थल बनाउने निर्णय गरेको थियो। उक्त कार्यक्रममा विमानस्थलको रंगरोगनदेखि पुराना संरचनालाई शैली परम्परागत रुपमा सुविधा थपेर अत्याधुनिक बनाउने थियो। तर ३६ करोड रुपैयाँ खर्च गरेर बुटिक विमानस्थल बनाएको भनिए पनि अहिले ती सबै संरचना पुन: परिवर्तन गर्न थालिएको छ।

बुटिक विमानस्थलमा आर्थिक हिनामिना भएको भन्दै महालेखाको ५८ औँ प्रतिवेदनमा समेत समावेश गरिएको छ। महालेखाको प्रतिवेदनमा बुटिक विमानस्थलको शीर्षकबाट थप खर्च गरे पनि विवरण तयार नपारेको विषय उल्लेख छ। साथै बनाइएका र थपिएको संरचनासमेत पहिचान गर्न नसकिने अवस्थामा रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। तर बुटिक बनाउने भनिए पनि विमानस्थल पुरानै अवस्थामा रहेको छ। 

वाटर फाउन्टेन लगायतका संरचनामा १५ करोड

विमानस्थल कार्यालयले बुटिक विमानस्थल बनाउन भन्दै विमानस्थलको गेटबाट प्रवेश गर्ने वित्तिकै मुख्य चोकमा वाटर फाउन्टेन बनाएको थियो। उक्त वाटर फाउन्टेन बनाउन मात्रै १५ करोड रुपैयाँ खर्च भएको बिल कार्यालयले प्राधिकरणमा बुझाएको थियो। तर प्राधिकरणले बिल मिलान गर्न सकेको थिएन।

टर्मिनल भवन रंगरोगन गर्न मात्रै १५ करोड

बुटिक विमानस्थल अन्तर्गत नै अर्को काम भने टर्मिनल भवन रंगरोगनको काम भएको थियो। कार्यालयले आन्तरिक टर्मिनल भवन र अन्तर्राष्ट्रिय टर्मिनल भवन रंगरोगन गरेको थियो। उक्त कामका लागि कुल १५ करोड रुपैयाँ खर्च भएको छ। जसमा आन्तरिक टर्मिनल भवनको रंगरोगनमा ७ करोड रुपैयाँ खर्च गरेको थियो। त्यस्तै अन्तर्राष्ट्रिय टर्मिनल भवनको रंगरोगनमा ८ करोड रुपैयाँ खर्च भएको विवरण फेला परेको छ। 

butique airport (2).jpg

१ करोडमा गैँडा र बुद्धको मूर्ती 

बुटिक विमानस्थल अन्तर्गत अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमन कक्ष प्रवेश गेटनजिकै कार्यालयले गैँडा र बुद्धको मूर्ती राखेको थियो। यसका लागि कार्यालयले १ करोड रुपैयाँ खर्च गरेको थियो।  गैडा र बुद्धको मूर्ती खरिद पनि बिना प्रतिस्पर्धा भएको थियो। अहिले मूर्तीसमेत हटाइएको छ। 

चाइनिज इँटामा तेल लगाउन ४ करोड

बुटिक विमानस्थल अन्तर्गतको अर्को कार्यक्रम थियो चाइनिज इँटामा तेल लगाउने। यो काममा लागि मात्रै कार्यालयले ४ करोड रुपैयाँ खर्च गरेको तथ्यबाहिर आएको छ। 

यसैगरी फूलबारी बनाउन पनि कार्यालयले १ करोड रुपैयाँ खर्च गरेको थियो। फेरि त्यही फूलबारी बनाउने पनि चालु आर्थिक वर्षमा १ करोड खर्च हुने प्रस्ताव कार्यालयले गरेको प्राधिकरणले जनाएको छ। तर, यो विषयको बजेट पारित भने भइसकेको छैन।

यसबाहेक बुटिक विमानस्थलमा भन्दै बाहिर रहेको मार्वलमाथि कार्पेट राख्ने काममा पनि ८ करोड रुपैयाँ खर्च भएको छ। अहिले फेरि कार्पेट झिकेर अध्यागमन विभागले केही ठाउँमा भने टल्कने मार्वल नै हालिसकेको छ।

प्राधिकरणमा निमित्तको तामझाम, खादा लगाएर पदभार ग्रहण 

महानिर्देशक राजन पोखरेलले राजीनाममा दिएसँगै अत्यावश्यक कुनै काम नरोकियोस् भन्दै प्राधिकरणकै उपमहानिर्देशक राजकुमार क्षेत्रीलाई बुधबार निमित्त दिएका थिए। निमित्त पाएसँगै क्षेत्रीले महानिर्देशक नै नियुक्त भएको जस्तै गरि तामझामका साथ पदभार ग्रहण गरेका छन्।

उनले गरेको तामझाम अहिलेसम्म प्राधिकरणमा नभएको पूर्वमहानिर्देशहरु बताउँछन्।

‘महानिर्देशक विदेश जाँदा वा लामो बिदामा बस्दा पनि निमित्त दिने गरिन्छ,’ एक पूर्व महानिर्देशकले भने, ‘उनले पाएको निमित्त पनि त्यस्तै प्रकृतिको हो। सरकारले निर्णय गरेर निमित्त दिएको हैन। उनले जे काम गरे त्यो प्राधिकरणको इतिहासमा अहिलेसम्म भएको थिएन।’

क्षेत्रीले ३ दर्जन कर्मचारीलाई हलमा बोलाएर बधाई दिन लगाउँदै खादा पहिरिएका थिए। 

क्षेत्री आफै पुस २५ गते स्वत अवकाश हुँदै छन्। ३ महिनाको समय भए पनि उनी महानिर्देशक बन्न लागिपरेका छन्।

उनै क्षेत्री पुस २५ गते १२ औँ तहको ६ वर्षे कार्यकाल सकेर स्वत: अवकाशमा जाने छन्। यसअघि रतिशचन्द्रलाल सुमन पनि एक महिना निमित्त बनेका थिए। तर उनले पनि आफ्नै कार्यकक्षबाट चलाएका थिए। त्यसपछि निमित्त बनेका महेन्द्रसिंह रावलले आफ्नै कार्यकक्षबाट निमित्त चलाएका थिए। त्यस्तै राजन पोखरेल तथा विगतमा निमित्त बनेका मोहन अधिकारीले पनि आफ्नै कार्यकक्षबाट निमित्त चलाएका थिए।


प्रकाशित : बिहीबार , असोज ७ २०७८०१:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend