बुधबार, जेठ २७ गते २०८३    
बुधबार, जेठ २७ २०८३

देशभरका क्यासिनोमा लगातार राजस्वको छापा, विदेशी मुद्रा कारोबारदेखि आकस्मिक लाभकरसम्म निगरानी

मंगलबार, जेठ २६ २०८३
देशभरका क्यासिनोमा लगातार राजस्वको छापा, विदेशी मुद्रा कारोबारदेखि आकस्मिक लाभकरसम्म निगरानी

हाल नेपालभर ठूला क्यासिनो र मिनी-क्यासिनो गरी करिब दुई दर्जन क्यासिनो सञ्चालनमा छन्। यीमध्ये अधिकांश पाँचतारे तथा चारतारे होटलसँग आबद्ध छन् भने केही सीमावर्ती क्षेत्रमा केन्द्रित छन्।

काठमाडौं- आन्तरिक राजस्व विभागले देशभर सञ्चालनमा रहेका क्यासिनो तथा मिनी-क्यासिनोहरूमा पछिल्लो समय लगातार अनुगमन र छापा अभियान तीव्र बनाएको छ।

कर्मचारी तथा आगन्तुकहरूको विवरण व्यवस्थित नराख्ने, विदेशी मुद्रा कारोबारको अभिलेखमा कमजोरी देखिने तथा आकस्मिक लाभकर (विन्डफल ट्याक्स) सम्बन्धी सम्भावित अनियमितताबारे आशंका बढेपछि विभागले निगरानी बढाएको हो।

राजस्व प्रशासनले क्यासिनो व्यवसाय उच्च नगद कारोबार हुने क्षेत्र भएकाले करछली, विदेशी मुद्रा व्यवस्थापन तथा ग्राहक अभिलेखीकरणका विषयमा विशेष निगरानी गरिरहेको छ। अनुगमनका क्रममा क्यासिनोहरूले कर्मचारी, खेलाडी तथा आगन्तुकको विवरण अद्यावधिक राखे-नराखेको, विदेशी मुद्राको खरिद-बिक्री तथा प्रयोगको अभिलेख मिलेको-नमिलेको र कर दायित्व पूरा गरेको-नगरेको विषय अध्ययन भइरहेको छ।

स्रोतका अनुसार विभागले विशेष गरी आकस्मिक लाभकरको गणना र भुक्तानीमा गडबडी भएको हुनसक्ने आशंकामा विभिन्न क्यासिनोका वित्तीय अभिलेख परीक्षण गरिरहेको छ। केही क्यासिनोमा खेलाडीले प्राप्त गरेको ठूलो रकम तथा त्यसबाट सिर्जना हुने कर दायित्वको अभिलेखमा प्रश्न उठेपछि थप अनुसन्धान अघि बढाइएको बताइएको छ।

हाल नेपालभर ठूला क्यासिनो र मिनी-क्यासिनो गरी करिब दुई दर्जन क्यासिनो सञ्चालनमा छन्। यीमध्ये अधिकांश पाँचतारे तथा चारतारे होटलसँग आबद्ध छन् भने केही सीमावर्ती क्षेत्रमा केन्द्रित छन्। विशेषगरी भारतसँग जोडिएका सीमा नाकानजिकका क्यासिनोहरूमा भारतीय नागरिकको उल्लेख्य उपस्थिति रहने गरेको छ।

काठमाडौंदेखि पोखरा र भैरहवासम्मका ठूला क्यासिनोहरूमा समेत भारतीय ग्राहकको हिस्सा उच्च रहेको छ। नेपालमा क्यासिनो भारतीय प्रतिबन्ध नभएकाले भारतका विभिन्न राज्यबाट आउने पर्यटकहरू क्यासिनो उद्योगको मुख्य ग्राहक समूह मानिन्छन्।

क्यासिनो क्षेत्रबाट सरकारलाई प्राप्त हुने राजस्व बढाउन र सम्भावित कर चुहावट नियन्त्रण गर्न नियमित तथा आकस्मिक अनुगमनलाई निरन्तरता दिइनेछ। विदेशी मुद्रा कारोबार, ग्राहक पहिचान प्रणाली, नगद व्यवस्थापन तथा कर अनुपालनका विषयलाई आगामी दिनमा अझ कडाइका साथ परीक्षण गरिने राजस्व प्रशासनले  जनाउँदै आएको छ।

राजस्व प्रशासनले क्यासिनो व्यवसायलाई व्यवस्थित, पारदर्शी र कर प्रणालीभित्र पूर्ण रूपमा ल्याउने उद्देश्यसहित पछिल्लो समय निगरानी बढाएको जनाउँदै आएको छ।


प्रकाशित : मंगलबार, जेठ २६ २०८३१५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend