काठमाडौं- पाल्पाको राम्दीस्थित सिद्धार्थ राजमार्गमा ‘कन्क्रिट फिल्ड स्टिल ट्युब (सीएफएसटीस्) आर्च’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
निर्माणाधिण पुल असारभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए। उनका अनुसार पुल निर्माणको काम ९० प्रतिशत सकिएको छ।
पुलको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको र डेक कन्क्रिटिङ तथा केही सहायक संरचनाको काम बाँकी रहेको उनले जानकारी दिए। आर्थिक वर्षको अन्त्यसम्म पुल सञ्चालनमा ल्याउने प्रयास गरिरहेको उनको भनाइ छ।
महानिर्देशक डा. जैसीका अनुसार राम्दी क्षेत्र सिद्धार्थ राजमार्गको रणनीतिक महत्वको बिन्दु हो। उक्त पुल जलविद्युत आयोजनाका भारी उपकरण ढुवानी तथा राष्ट्रिय सडक सञ्जालका लागि समेत महत्वपूर्ण रहेको छ।
पुरानो पुलमा कम्पन (भाइब्रेसन) सम्बन्धी समस्या देखिएपछि नियमित मर्मत गरिएपनि दीर्घकालीन समाधानका लागि नयाँ पुल निर्माण गरिएको उनले जानकारी दिए। नयाँ पुल डिजाइन एण्ड बिल्ड ठेक्का प्रणालीमार्फत निर्माण भइरहेको उनले जानकारी दिए।
निर्माण व्यवसायीले प्रश्तुत गरेको कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च डिजाइन स्वीकृत गरी काम अघि बढाइएको उनको भनाइ छ। यो प्रविधि विशेषगरी चीनमा व्यापक रूपमा प्रयोग हुँदै आएको उनले जानकारी दिए। उनका अनुसार पुलले करिब १०० टनसम्मको समग्र भार वहन गर्नसक्ने क्षमता राख्नेछ।
नेपालमा यस प्रकारको भर्टिकल ह्याङ्गरयुक्त कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च पुल पहिलोपटक निर्माण भइरहेको उनको भनाइ छ। यसअघि मुग्लिङ र काठमाडौंको बिजुलीबजारमा विभिन्न प्रकारका आर्च पुल बने पनि सिएफएसटी प्रविधिमा आधारित पुल भने राम्दीमै पहिलो निर्माण हुन लागेको उनले बताए।
‘यो राम्दी भन्ने ठाउँ यो सिद्दार्थ राजमार्गको पहिलेदेखि कै असाध्यै महत्वपूर्ण पोइन्ट छ। हाइड्रोपावरका सामानहरु सार्नलाई, हाम्रो रोडको लागि पनि यो महत्वपूर्ण पुल थियो। यो पुरानो पुलमा केही वर्ष यता अलि भाइब्रेसनको समस्या देखियो। भाइब्रेसनको समस्या देखिएपछि हामीले यसलाई मर्मत पनि गरिराखेका छौँ। यसको अलावा नयाँ पुल बनाउनुपर्छ भनेर हामीले नयाँ पुल बनाउन थालेको हो' उनले भने।
'पुल बनाउनलाई हामीले डिजाइन एण्ड बिल्ट ठेक्का प्रणालीबाट ठेक्का गर्यौँ। त्यसमा निर्माण व्यवसायीले यो अलिकति नौलो प्रकारको, यो सिएफएसटी भन्ने कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च भन्ने डिजाइन ल्याउनुभयो। हामीले त्यसलाई सहर्ष स्वीकार गरी स्वीकृति दिएर अहिले यो निर्माणाधीन छ। यसलाई आर्च पुल भनिन्छ, यो एकदमै स्टेबल, बलियो मानिन्छ। उही स्पानको लम्बाईको लामो पुल बनाउनु भयो भने त्यो बलियो हुँदैन तर त्यसलाई आर्च सेप दिएमा त्यो बलियो हुन्छ' उनले भने।
उनले अघि भने, 'यसको आफ्नो ज्योमेट्रीले नै यसलाई बलियो बनाएको हुन्छ। आर्चमा पनि यो बिशेष खालको छ, चीनमा यसको धेरै प्रयोग भईरहेको छ। यसको मेन डेभलपमेन्ट नै चीनमा भएको हो। यस्ता पुल हाम्रो नेपालमा पनि उपयुक्त हुन्छ। यसको भौतिक प्रगति अहिले करिब ९० प्रतिशतको हाराहारीमा छ। यसको माथिको डेकको काम अलिकति बाँकी रहेको छ। यो डेक कन्क्रिटिङ भएपछि यो आर्थिक वर्षको अन्तिमसम्म हामीले पुललाई चलाउने कोसिस गर्छौंं।'
लोड थाम्ने क्यापासिटी यसको सबै अरु पुल बराबरै रहेको भन्दै उनले भने, 'हाम्रो चाहीँ यो इन्डियन रोड स्टान्डर्डअनुसारको पुल हो, एक्सेल लोड १० टन, हाम्रो अर्डिनरी एक्सेल लोडको लागि र ओभरअल लोड १०० टन। त्यो रेन्जको यसको लोडिङ विभिन्न कम्बिनेसनहरु हुन्छ। यो असार भित्र पुल सम्पन्न गरेर सञ्चालन गर्ने तयारी गरेका छौँ। यो भर्टिकल ह्याङ्गर भएको कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च हो, नेपालको लागि यो पहिलो पल्ट यस्तो आर्च बन्दैछ।’
१२५ मिटर स्पान रहेको पुलमा स्टिल ट्युबभित्र कन्क्रिट भरिने प्रविधि अपनाइएको छ। कन्क्रिट जमिसकेपछि स्टिल र कन्क्रिट एकीकृत भइ बलियो संरचना तयार हुने तथा पुलको सम्पूर्ण भार दुवै किनारका एबटमेन्टमा स्थानान्तरण हुने डिजाइन रहेको विभागले जनाएको छ।
