काठमाडौं- अर्थ मन्त्रालयले भन्सार नाकामा गाडी नआइपुग्दै कागजातकै भरमा जाँचपास गर्ने रसुवा भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईसहित ९ कर्मचारीहरूलाई जिम्मेवारीमुक्त गरेको छ।
भन्सार यार्डमा सवारी साधन नआइकन गाडीको जाँचपास गराएको सूचनापछि भन्सार प्रमुख भट्टराईसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरेर भन्सार विभागमा तानिएको हो। भन्सार विभागले रसुवा भन्सार प्रमुखसहित ४ जनालाई मंगलबार नै जिम्मेवारी मुक्त गराएको थियो भने शुक्रबार रसुवा भन्सारमा कार्यरत थप ५ जनालाई जिम्मेवारीबाट हटाएर काठमाडौं तानेको हो।
अर्थमन्त्रीको जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाले यस प्रकरणमा भन्सारप्रमुखसहित ९ जनालाई जिम्मेवारीमुक्त गरेर भन्सार विभाग तानिएको जानकारी दिए। उनका अनुसार अहिले उक्त सम्बन्धमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले अनुसन्धान सुरु गरिसकेको छ।
अर्थमन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित अनुसन्धान टोलीले छानबिन सुरु गरिसकेको छ। प्रारम्भिक रूपमा भन्सार छलीको आशंकामा सुरक्षाकर्मीको सहायतामा नियन्त्रणमा लिइएका कार र आयातकर्ता कम्पनी माथि अनुसन्धान चलिरहेको अर्थमन्त्रालयले जनाएको छ।
सशस्त्र प्रहरी बलले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट बुधबार राति ७ सय ७९ वटा गाडी नियन्त्रणा लिएको थियो। यीमध्ये सबैजसो विद्युतीय सवारी बीवाईडीका हुन्।
बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बजेटअघिको एक महिनामा १ हजार ३ सय ९६ वटा विद्युतीय कार मुस्ताङ भन्सार र रसुवा भन्सारबाट जाँचपास गराएको थियो।
बजेटमा कर बढ्ने सूचना पाएर कम कर तिर्न जाँचपास गराएको आशंकामा मुस्ताङ भन्सारबाट जाँचपास भएका ७ सय ७९ गाडी भन्सारको निगरानीमा छन्। त्यस्तै रसुवा भन्सारले बजेटअघि जाँचपास गरेका बीवाईडीका विद्युतीय कार अहिले पनि भन्सार नाकामा आइपुगेका छैनन्। साेही विषयमा अनुसन्धान गर्न भन्सार प्रमुखसहित रसुवाको सबै टिमलाई जिम्मेवारीबाट हटाएन नयाँ टिम पठाइएको छ।
