आइतबार, जेठ २४ गते २०८३    
आइतबार, जेठ २४ २०८३

सीमित समूहको स्रोत कब्जा अन्त्य गर्ने सरकारी पहल सकारात्मक : उद्योगपति विनोद चौधरी

शनिबार, जेठ २३ २०८३
सीमित समूहको स्रोत कब्जा अन्त्य गर्ने सरकारी पहल सकारात्मक : उद्योगपति विनोद चौधरी

उद्योगपति विनोद चौधरीले विगतमा सीमित समूहले स्रोतसाधनमा कब्जा जमाउने प्रवृत्तिको अन्त्य गरी पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले परियोजना अघि बढाउने सरकारको प्रयास सकारात्मक रहेको बताएका छन्।

काठमाडौं- उद्योगपति विनोद चौधरीले विगतमा सीमित समूहले स्रोतसाधनमा कब्जा जमाउने प्रवृत्तिको अन्त्य गरी पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले परियोजना अघि बढाउने सरकारको प्रयास सकारात्मक रहेको बताएका छन्।

नेपाल उद्योग परिसंघले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै चौधरीले मुलुकमा सुधार र आशावादको वातावरण बनेको भए पनि त्यसलाई ठोस लगानी तथा परियोजनाको कार्यान्वयनमा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले प्रशासनिक, कानुनी, न्यायिक तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा सुधारको प्रक्रिया सुरु भएको उल्लेख गर्दै त्यसलाई अझ तीव्रता दिनुपर्ने धारणा राखे। उनका अनुसार निजी क्षेत्रले अपेक्षा गरेको नीतिगत सुधारलाई व्यवहारमा उतार्न सके आर्थिक गतिविधिले थप गति लिन सक्छ।

ऊर्जा क्षेत्रलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै चौधरीले विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) को प्रतीक्षामा रहेका हजारौं मेगावाट क्षमताका जलविद्युत् आयोजना लामो समयदेखि रोकिएको बताए। दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि पीपीए प्रक्रिया अपेक्षित गतिमा अघि बढ्न नसकेको भन्दै उनले ५ हजार मेगावाटभन्दा बढी क्षमताका परियोजना प्रभावित भएको उल्लेख गरे।

उनले विगतमा सीमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई अन्त्य गर्दै पारदर्शी र प्रतिस्पर्धात्मक आधारमा परियोजना विकास गर्ने सरकारको प्रतिबद्धता देखिएको भन्दै अब त्यसलाई छिटो कार्यान्वयनमा लैजानुपर्ने बताए।

चौधरीले पर्यटन क्षेत्रमा पनि सकारात्मक संकेत देखिएको उल्लेख गर्दै हालै विभिन्न तहबाट प्रस्तुत भएका नीतिगत दृष्टिकोण र एजेन्डालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सकारात्मक रूपमा हेरिएको बताए। यस्ता पहलले मुलुकलाई विकासको मार्गमा ठूलो फड्को मार्न सहयोग पुग्ने उनको भनाइ छ।

निजी क्षेत्र लगानीका लागि पूर्ण रूपमा तयार रहेको बताउँदै उनले नेपालमा लगानीयोग्य पूँजी अर्थात् तरलताको अभाव नरहेको र काम गर्न इच्छुक जनशक्तिको पनि कमी नभएको बताए। मुलुकमा देखिएको सकारात्मक परिवर्तनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आशा जगाएको उल्लेख गर्दै उनले ठूला अन्तर्राष्ट्रिय कम्पनीहरूले नेपालमा लगानी र नयाँ परियोजना अघि बढाउन चासो देखाइरहेको बताए।

उनले सरकार, निजी क्षेत्र र विकास साझेदारबीचको सहकार्यलाई परिणाममुखी बनाउँदै योजना, सोच र प्रतिबद्धतालाई तीव्र गतिमा कार्यान्वयनमा लैजान सके मुलुकले अपेक्षित आर्थिक रूपान्तरण हासिल गर्न सक्ने धारणा व्यक्त गरे।


प्रकाशित : शनिबार, जेठ २३ २०८३०९:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend