शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

ओलिज स्टोरको व्यापार विस्तार भए पनि ऋण निर्भरता उच्च, गतवर्ष डेढ अर्बको कारोबार

शुक्रबार, जेठ २२ २०८३
ओलिज स्टोरको व्यापार विस्तार भए पनि ऋण निर्भरता उच्च, गतवर्ष डेढ अर्बको कारोबार

रेटिङ प्रतिवेदनअनुसार कम्पनीको कारोबार पछिल्ला वर्षहरूमा उल्लेख्यरूपमा बढेको छ। आर्थिक वर्ष २०२३ मा ८५ करोड ४० लाख रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०२४ मा बढेर १ अर्ब ३१ करोड ९० लाख रुपैयाँ पुगेको थियो भने आर्थिक वर्ष २०२५ मा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँ पुगेको छ।

काठमाडौं- प्रविधिसम्बन्धी उपकरण तथा ग्याजेटको व्यापार गर्दै आएको ओलिज स्टोर प्रालिलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले दीर्घकालीन बैंकिङ सुविधामा ‘आईआरएन बीबी माइनस’ र अल्पकालीन बैंकिङ सुविधामा ‘आईआरएन ए ४’ रेटिङ प्रदान गरेको छ।

कम्पनीको १ करोड ८ लाख रुपैयाँबराबरको दीर्घकालीन र ६८ करोड ९१ लाख रुपैयाँबराबरको अल्पकालीन बैंकिङ सुविधाका लागि उक्त रेटिङ दिइएको हो।

इन्फोमेरिक्स नेपालका अनुसार ओलिज स्टोरको रेटिङलाई कम्पनीका अनुभवी प्रवर्द्धक, सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा लामो अनुभव, कारोबारको विस्तार, स्थापित अन्तर्राष्ट्रिय ब्रान्डसँगको आबद्धता तथा देशका प्रमुख सहरहरूमा फैलिएको बजार उपस्थितिले सहयोग गरेको छ।

सन् २०१० देखि सञ्चालनमा रहेको ओलिज स्टोर नेपालको प्रविधि बजारमा परिचित कम्पनीमध्ये एक हो। कम्पनीले मुख्यरूपमा एप्पलका उत्पादनहरू तथा अन्य अन्तर्राष्ट्रिय ब्रान्डका मोबाइल फोन, ल्यापटप, क्यामेरा, ड्रोन र विभिन्न प्रविधि उपकरणको बिक्री गर्दै आएको छ। कम्पनीका अध्यक्ष चेतनप्रसाद ओली र प्रबन्ध निर्देशक लोकेश ओली हुन्। 

रेटिङ प्रतिवेदनअनुसार कम्पनीको कारोबार पछिल्ला वर्षहरूमा उल्लेख्यरूपमा बढेको छ। आर्थिक वर्ष २०२३ मा ८५ करोड ४० लाख रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०२४ मा बढेर १ अर्ब ३१ करोड ९० लाख रुपैयाँ पुगेको थियो भने आर्थिक वर्ष २०२५ मा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँ पुगेको छ।

यसअघि आर्थिक वर्ष २०२३ मा कम्पनीको आम्दानीमा ठूलो गिरावट आएको थियो। नेपाल सरकारले ६ सय अमेरिकी डलरभन्दा माथिका मोबाइल फोनसहित केही विलासी तथा गैरआवश्यक वस्तुको आयातमा लगाएको प्रतिबन्धका कारण कम्पनीको कारोबार प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। सन् २०२२ अप्रिलदेखि डिसेम्बरसम्म लागु गरिएको उक्त व्यवस्थाले प्रविधि उपकरणको व्यापारमा असर पारेको थियो।

यद्यपि कम्पनीको आम्दानी बढे पनि नाफाको दरमा भने दबाब देखिएको छ। आर्थिक वर्ष २०२५ मा कम्पनीको इबिट्डा मार्जिन ६.५ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ७.७६ प्रतिशत थियो। खुद नाफा मार्जिन पनि आर्थिक वर्ष २०२४ को ३.२३ प्रतिशतबाट घटेर आर्थिक वर्ष २०२५ मा १.३९ प्रतिशतमा सीमित भएको छ।

इन्फोमेरिक्स नेपालले कम्पनीको वित्तीय संरचनामा केही कमजोरी पनि औँल्याएको छ। कम्पनीको ऋणमा निर्भरता बढ्दै गएको देखिएको छ। आर्थिक वर्ष २०२५ सम्म कम्पनीको समग्र गियरिङ अनुपात २.४८ गुणा पुगेको छ, जुन अघिल्लो वर्ष १.९९ गुणा थियो। कार्यशील पुँजीको आवश्यकता पूरा गर्न अल्पकालीन ऋणको उपयोग बढेका कारण ऋणभार वृद्धि भएको जनाइएको छ।

त्यस्तै कम्पनीको ब्याज तिर्ने क्षमता पनि मध्यम स्तरको रहेको प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्ष २०२५ मा ब्याज कवरेज अनुपात २.१८ गुणा रहेको छ, जुन अघिल्लो वर्ष २.७५ गुणा थियो। ऋण सेवा क्षमता सूचक (डीएससीआर) पनि २.३१ गुणामा झरेको छ।

ओलिज स्टोरको व्यापार प्रकृति कार्यशील पुँजीमा अत्यधिक निर्भर रहेको इन्फोमेरिक्सको निष्कर्ष छ। अधिकांश सामान आयातमार्फत ल्याउनुपर्ने भएकाले कम्पनीले ठूलो परिमाणमा मौज्दात राख्नुपर्ने हुन्छ। आर्थिक वर्ष २०२५ मा कम्पनीको औसत मौज्दात अवधिसमेत १२९ दिन रहेको छ। यसले कम्पनीको नगद प्रवाहमा दबाब सिर्जना गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ।

रेटिङ एजेन्सीले कम्पनीलाई तीव्र प्रतिस्पर्धा, प्रविधिको तीव्र परिवर्तन, विदेशी विनिमय दरको उतारचढाव तथा सरकारी नीतिगत जोखिमप्रति पनि संवेदनशील रहेको जनाएको छ। प्रविधि बजारमा उत्पादनहरूको जीवनचक्र छोटो हुने, नयाँ प्रविधि छिटो आउने तथा विश्वव्यापी ब्रान्डबीच प्रतिस्पर्धा तीव्र हुने भएकाले कम्पनीको व्यापारिक प्रदर्शनमा प्रत्यक्ष प्रभाव पर्न सक्ने विश्लेषण गरिएको छ।

साथै कम्पनीका अधिकांश सामान विदेशी मुद्रामा आयात गरिने हुँदा विनिमय दरमा हुने परिवर्तनले लागत बढाउन सक्ने जोखिम पनि रहेको छ। विगतमा सरकारले मोबाइल फोन तथा अन्य प्रविधि उपकरणको आयातमा लगाएको प्रतिबन्धजस्ता नीतिगत निर्णयले पनि कम्पनीको कारोबारमा प्रभाव पार्न सक्ने इन्फोमेरिक्सले जनाएको छ।

हाल ओलिज स्टोरले काठमाडौंसहित देशका प्रमुख सहरहरूमा १५ वटा खुद्रा बिक्री केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको डिजिटल उपस्थितिसमेत बलियो रहेको र त्यसले ग्राहकसम्म पहुँच विस्तार गर्न सहयोग पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ।


प्रकाशित : शुक्रबार, जेठ २२ २०८३०६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend