काठमाडौं- कुनै पनि आयातकर्ताले आयात गर्ने वस्तुको एचएस कोड तथा करको विषयमा जानकारी लिन पनि दस्तुर तिर्नुपर्ने भएको छ।
सरकारले भन्सार ऐनको दफा ६८ मा उपदफा ६ थप्दै पूर्वादेशको निवेदनमा शुल्क लिन व्यवस्था गरेको हो।
आर्थिक विधेयकमार्फत संशोधन गर्न लागिएको भन्सार ऐनमा भनिएको छ 'पैठारीकर्ताले आफूले पैठारी गर्ने वस्तुको वर्गीकरण वा उत्पत्तिको सम्बन्धमा पूर्वादेशको लागि महानिर्देशकसमक्ष निवेदन दिएमा भन्सार विभागका महानिर्देशकले पूर्वादेश दिन सक्नेछन्।'
यही व्यवस्थाअनुसार पूर्वादेशका लागि निवेदन दिँदा हालसम्म रकम लाग्ने थिएन। अब भने ३ हजार रुपैयाँ तिर्नु पर्ने छ।
व्यवसायीका अनुसार यसअघि व्यवसायीले पूर्वादेशका लागि विभागका महानिर्देशकलाई निवेदन दिए पनि निर्णय हुन सकेको थिएन। अब भने रकम लिएपछि पूर्वादेश जारी हुनेमा व्यवसायी विश्वस्त छन्।
