काठमाडौं- सरकारले एकमात्रै पूर्णरूपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको कामलाई प्रमुख प्राथमिकतामा राखेको छ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि १ अर्ब ५३ करोड रुपैयाँ विनियोजना भएको छ।
यसैगरी सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी ६ महिनाभित्र टुंगो लगाउनेसमेत उद्घोष गरेको छ। यसैगरी पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने उद्घोष गरेको छ।
२ वटै विमानस्थल सञ्चालनका आएको ४ वर्ष हुँदा पनि पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मुआब्जा रकमसहित ३० अर्बभन्दा बढी खर्च भएको छ। यो विमानस्थल २०७९ जेठबाट सञ्चालना आएको थियो।
यसैगरी २५ अर्ब रुपैयाँ खर्च भएको पोखरा विमानस्थल भने २०७९ माघदेखि सञ्चालनमा आएपनि अन्तर्राष्ट्रिय उडान खासै हुन सकेको छ। हिमालय एयरलाइन्सले सातामा एक उडान गरेपनि अरु नियमित उडान हुन सकेको छ। केही चार्टर उडान भने भइरहेको छ।
यसैगरी भरतपुर विमानस्थललाई विस्तार गरी रात्रीकालीन उडान सञ्चालन गर्नेसमेत सरकारले उद्घोष गरेको छ। विमास्थलमा अहिले सुविधासम्पन्न टर्मिनल भवन निर्माण भइरहेको छ भने रन-वे विस्तारको काम पनि केहीरुपमा अगाडि बढेको छ।
यसैगरी बजेटमार्फत नै प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल, मुगुको ताल्चा र दाङको टरिगाँउ विमानस्थल स्तरोन्नति गरिने भएको छ।
सरकारले आगामी आवका लागि संस्कृति तथा पर्यटन क्षेत्रका लागि ७ अर्ब ३४ करोड र नागरिक उड्ययन क्षेत्रका लागि २ अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरेको छ।
