काठमाडौं- सरकारले आन्तरिक उत्पादन प्रवर्द्धन तथा संरक्षणका लागि भन्दै केही बस्तुमा आन्तरिक उत्पादन प्रवर्द्धन तथा संरक्षण शुल्क लगाउने घोषणा गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेटसँगै संसदमा पेस भएको आर्थिक विधेयक २०८३ मा आन्तरिक उत्पादन प्रवर्द्धन तथा संरक्षण शुल्क लगाउने विषय समावेश गरिएको छ।
आन्तरिक उत्पादन प्रवर्द्धन तथा संरक्षण शुल्क ५ प्रतिशतदेखि १५ प्रतिशतसम्म रहेको छ। जसमा गाढा पारिएको वा चिनी वा अन्य गुलियो पदार्थ हालिएको दूध र तर बस्तुहरुमा १० प्रतिशत, दूधबाट निकालिएका नौनी तथा अन्य स्नेह (फ्याट वा चिल्लो पदार्थहरू) र तेलहरू (आयल्स); दुग्ध विस्तरण (डेरी स्प्रेड्स)मा १० प्रतिशत र कफी कर लगाइएको छ।
यसैगरी भुटेको वा नभुटेको वा क्याफिन (क्षारतत्त्व) छुट्याएको वा नछुट्याएको; कफीको ढुटो र बोक्रा; कुनै पनि अनुपातमा कफीको मात्रा रहेका कफीका प्रतिस्थापकहरूमा पनि १० प्रतिशत नै कर तोकिएको छ।
यसैगरी चिया, स्वादिष्ट बनाइएको वा नबनाइएकोमा १० प्रतिशत , पाइपर जातको मरिच; क्याप्सिकम वा पिमेन्टा जातका सुकेका वा टुक्र्याइएका वा पिँधेका खुर्सानीहरूमा १५ प्रतिशत, दालचिनी र दालचिनको रुखका फूलहरुमा १० प्रतिशत, अदुवा, केशर, हलेदो (बेसार), तेजपात, पुदिना, तरकारीको (करी) र अन्य मसलाहरूमा ५ प्रतिशत कर लगाइएको छ।
साथै मुख्यतया बुन्न वा बाट्न (चोया वा पोयाको रूपमा प्रयोग गरिने वनस्पति पदार्थहरू (जस्तै बाँस, राटान (लहरे ताड), नर्कट, निगालो, रश, ओसियर र राफिया, सफा गरेको, चहकिलो पारेको वा रङ्गाएको खाद्यान्नको पराल र लाइमको बोक्रा)मा १० प्रतिशत आन्तरिक उत्पादन प्रवर्द्धन तथा संरक्षण शुल्क लाग्ने भएको छ।
यसैगरी अन्यत्र उल्लेख वा समावेश नभएका वनस्पति उत्पादनहररुमा ५ देखि १० प्रतिशत कर लाग्ने भएको छ। रुद्राक्षका दाना,विंडी वेर्ने पातहरू, पानको पातहरू, खयर कत्था, रिट्टा (सोपनट) र अम्रिसोमा पनि १० प्रतिशत नै कर लाग्ने छ।
बाल्ने दाउरा, मुढा, चिरेको मोटो टुक्रा (बिलेट), हाँगाबिँगा वा दाउराको बाँधेको बिटो, वा यस्तै रूपमा, काठका चोइटाचोइटी वा मसिना टुक्राटाकी (पार्टिकल),काठ चिरेको धुलो, काठको अवशेष र रद्दी वस्तु, मुढो, ब्रिकेट, पेलेट वा यस्तै रूपमा एकत्रित गरिएको वा नगरिएकोमा ५ प्रतिशत कर लाग्ने भएको छ।
एकत्रित गरिएको वा नगरिएको काठको गोल, खबटा (शेल) को वा बियाँ (नट) को गोलमा ५ प्रतिशत र हुक्कामा प्रयोग हुने चारकोलमा भने १० प्रतिशत कर लाग्ने भएको छ। बोका वा काठको बाहिरी नरम भाग ताछेको वा नताछेको वा मोटा मोटी ढंगले चारपाटे पारेको अपरिमार्जित काठमा मा ५ प्रतिशत कर लगाइएको छ ।
हुपको काठ; काठको चिरेको खम्बा (पोल); तिखारेको तर लम्बाइमा नचिरेको काठको घोचा (पाइल), काठको किलो (पिकेट) र एकापट्टि तिखारिएको घोचो (स्टेक); साधारण रूपले काँटछाँट गरेको तर नदोब्याएको, नबङ्ग्याएको, अरूथोक नबनाएको टेक्ने लठ्ठी, छाताको डण्डी, औजारको डण्डी वा त्यस्तै सामान बनाउन उपयुक्त हुने खालको काठको छडी; चोइटाचोइटी काठ (चिपऊड) मा पनि ५ प्रतिशत नै कर लाग्ने भएको छ।
यसैगरी काठको ऊन, काठको पिठो र रेल वा ट्रामको काठका पटरीहरू (स्लिपर) (कस-टाइज)मा पनि ५ प्रतिशत नै कर लाग्ने छ। लम्बाइमा चिरेको वा काटेको (चिप्ड), ताछेको (स्लाइस्ड) वाबोक्रा हटाएको (पिल्ड) रन्डा लगाएको वा नलगाएको, अपघर्षक लगाई चिल्याएको वा नचिल्याएको वा छेउमा जोड (इन्ड ज्वाइन्टेड) गरिएको वा नगरिएको ६ एम.एम. भन्दा बढी मोटाइको काठमा ५ प्रतिशत कर लाग्ने छ।
यसैगरी जुनसुकै किनारा, टुप्पो वा मोहडातर्फ एकनाससँग आकार दिइएको (जिब्रो बनाइएको (टङ्ग), खोल्सा (खाँच) बनाइएको (युभ्ड), खुडकिलो आकारको खाँद बनाइएको (रिवेटेड), कुना वा किनारा मोडेको (च्याम्फर्ड) भी आकारमा जोडिएको, गुटका पारेको (बिडेड), नक्कासी गरेको (मोल्डेड), डोलो पारेको (राउण्डेड) वा यस्तै रन्डा लगाइएको वा नलगाइएको, खाक्सी लगाइएको वा नलगाइएको, अन्त्य छेउ (इन्डस) मिलाइएको वा नमिलाइएको, ज्वाइण्ट गरिएको वा नगरिएको काठ (भुइँमा बिछ्याउने नजोडिएको स्ट्रिप र फ्रिजेज) समेतमा ५ प्रतिशत कर लगाइएको छ।
आर्थिक विधेयकमा रेजिन्स वा अन्य प्राङ्गारिक बन्धक तत्त्वहरू (अर्गानिक बाइण्डिङ्ग सब्स्टान्सेस) ले सङ्कलित (एग्लोमेरेटेड्) गरिएको वा नगरिएको काठको वा अन्य काष्ठीय (लिग्नियस) पदार्थहरूको कणिका फल्याक (काठका मसिना टुक्राटाकीलाई जमाएर बनाइएको फल्याकः (पार्टिकल बोर्ड), अनुकूलित तन्तु फल्याक (ओरियण्टेड स्ट्राण्ड बोर्ड (ओएसबी)) तथा यस्तै किमिसका फल्याक (बोर्ड) (उदाहरणको लागि तन्तु फल्याक (वेफर बोर्ड)मा समेत ५ प्रतिशत कर लाग्ने भएको छ।
यसैगरी रेजिन वा अन्य प्राङगारिक तत्त्वले (टाँसेर) जोडेको वा नजोडेको काठ वा अन्य काष्ठीय पदार्थ (लिग्नियस म्याटेरियल) का फाइबर बोर्ड (रशादार फल्याक)मा १० प्रतिशत र प्लाइऊड, भेनियर्ड पट्टिका (प्यानेल) र त्यस्तै पत्र पत्र गरी अस्तर हालेर बनाएको काठ (ल्यामिनेटेड ऊड)मा पनि १० प्रतिशत नै कर लगाइएको छ।
प्लाइऊड, भेनियर्ड पट्टिका (प्यानेल) र त्यस्तै पत्र पत्र गरी अस्तर हालेर बनाएको काठ (ल्यामिनेटेड ऊडमा ७ प्रतिशत र रबर, प्लाष्टिक, छाला वा कम्पोजिसन लेदर (छालाको अवशेषबाट बनाइएको छाला) को बाहिरी तलुवा भएका र कपडा पदार्थको माथिल्लो भाग भएका पाउपोशमा १७ प्रतिशत आन्तरिक उत्पादन प्रवर्द्धन तथा संरक्षण शुल्क लगाइएको छ।
यसैगरी सिमेन्ट, प्लाष्टर वा अन्य खनिज पदार्थका बन्धक (बाइण्डर) द्वारा एकत्रित गरिएका वानस्पतिक रेशाका, परालका, काठका छ्याकन, चिप्स, मसिना टुक्रा, धुलो र अन्य अवशेषका प्यानल, बोर्ड, टायल, ब्लक र यस्तै वस्तुहरूमा १० प्रतिशत र सेरामिकका भुईमा विछ्याउने फ्लेगहरू र पेभिङ्गहरू, घरभित्र आगो बाल्ने स्थान (हर्थ) मा वा भित्तामा टाँस्ने टायलहरू; पृष्ठाधार (व्याकिङ्ग) मा भएको वा नभएको सेरामिकका मोज्याक क्युबहरू र यस्तै सामानहरू; फिनिसिङ्ग सेरामिक्समा १५ प्रतिशत कर लगाइएको छ।
यसैगरी सिट (आसन) हरू (शीर्षक ९४.०२ का बाहेक), बिछ्यौनाको रूपमा परिवर्तन गर्न सकिने वा नसकिने, र तिनका पार्टपुर्जाहरूमा र काठजन्य सबै बस्तुमा १० प्रतिशत आन्तरिक उत्पादन प्रवर्द्धन तथा संरक्षण शुल्क लगाइएको छ।
