काठमाडौं- सरकारले खाट, पलङ, डसना, सिरक, चक्ला र बिछ्यौनालगायतका सामानमा लाग्ने अन्त:शुल्क हटाएको छ। यसअघि १० देखि १५ प्रतिशत अन्त:शुल्क लाग्ने यस्ता वस्तुमा अब अन्त:शुल्क नलाग्ने भएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमार्फत यस्तो व्यवस्था गरेका हुन्। नयाँ बजेटसँगै आएको आर्थिक विधेयक २०८३ मार्फत यस्तो व्यवस्था गरिएको छ।
खाट वा पलङहरू, ओछ्यानका सामानहरू र यस्तै फर्निसिङ (सजावट) का सामानहरू (उदाहरणका लागि, डसना (मेट्रेस), सिरक, भुवा कोचेको दोलाइ, चक्ला, गद्दादार स्टुल र तकियाहरू), स्प्रिङ जडान गरिएका वा पुष्ट पारिएका वा भित्रपट्टि कुनै पदार्थ वा कोषीय रबर वा प्लाष्टिक हालेका, खोल हालिएका वा नहालिएका वस्तुमा लाग्ने अन्त:शुल्क हटाएको हो।
सिट आसनहरू, बिछ्यौनाको रूपमा परिवर्तन गर्न सकिने वा नसकिने र तिनका पार्टपुर्जाहरूमा लाग्ने अन्त:शुल्क पनि हटाएको छ।
