काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले समग्र रूपमा धेरै विषयलाई समेट्ने प्रयास गरेको टिप्पणी गरेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटपछि सिंहदरबारमा सञ्चारकर्मीसँग प्रारम्भिक प्रतिक्रिया दिँदै उनले बजेटप्रति प्रारम्भिकरूपमा सकारात्मक संकेत देखिएको तर विस्तृत अध्ययन बाँकी रहेको बताए।
‘समग्र बजेट सुन्दा हामी उत्साहित छौँ तर डिटेल्स अझै हेर्न बाँकी नै छ,’ श्रेष्ठले भने, ‘सरकारले धेरैजसो विषयलाई सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ। करका दर घटाउनेतर्फ पनि संकेत देखिन्छ।’
उनका अनुसार बजेटमा कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने प्रयास गरिएको छ भने अनुदान वितरण प्रणालीमा नयाँ मोडालिटी ल्याउने संकेत पनि देखिएको छ। त्यस्तै पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको उनले उल्लेख गरे।
श्रेष्ठले अहिलेको सरकार बहुमतसहित भएकाले विगतका तुलनामा बढी जिम्मेवार र गम्भीर भएर बजेट ल्याएको जस्तो देखिएको टिप्पणी गरे। उनका अनुसार सरकारको मुख्य चुनौती प्रतिबद्धता कार्यान्वयन नै हुनेछ।
‘सरकार पहिलाभन्दा अलि सिरियस भएर जाने र अहिले व्यक्त भएका प्रतिबद्धता कार्यान्वयन पक्ष पनि हेर्नुपर्नेछ,’ उनले भने, ‘विगतमा सरकार मिलिजुली थियो, अहिले बहुमतको सरकार छ। यस्तो सरकारले आफ्ना प्रतिबद्धता पूरा गरेर अर्थतन्त्र पुनर्जागरणतर्फ लैजान्छ भन्ने अपेक्षा गरेका छौँ।’
