काठमाडौ- अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त वैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ बजेट प्रस्तुत गर्दै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको बताए। यसमध्ये स्वास्थ्य बिमा कार्यक्रममा १५ अर्ब बजेट विनियोजन भएको उनले जानकारी दिए।
विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निःशुल्क औषधी लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि १३ अर्ब १५ करोड विनियोजन भएको छ। मन्त्री वाग्लेले निर्माण सुरु भएका ३ सय ३६ आधारभूत अस्पताललाई आगामी ३ वर्षमा निर्माण सम्पन्न गर्ने बताए। यसैगरी आधारभूत अस्पताल सञ्चालन तथा पूर्वाधार निर्माणका लागि ५ अर्ब ९० करोड विनियोजन भएको उनले बताए।
बजेटमा स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन, प्रमाणीकरण र प्रत्यायनका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्ने र कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेसन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्ने विषय समावेश भएको छ।
सङ्घीय विशिष्टीकृत अस्पतालमा जलन उपचार युनिटको स्थापना गर्ने र जलनको, जलनको सघन उपचारको लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्ने सरकारले घोषणा गरेको छ।
मन्त्री वाग्लेले मधेस प्रदेशमा मृगौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण सुरु गर्ने समेत बताए। यसैगरी बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने समेत उनले जानकारी दिए।
नागरिक स्तरबाट स्थापना भई अन्तर्राष्ट्रिय क्षेत्रमै ख्याति प्राप्त अनुकरणीय सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई प्रोत्साहित गर्ने उने बताए।
धुलिखेल सामुदायिक अस्पताल र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ को स्तरोन्नति गर्न बजेट विनियोजन भएको अर्थमन्त्री वाग्लेले बताए। तिलगंगा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर सहुलियत प्रदान गर्ने विषय समेत बजेटमा समावेश गरिएको छ।
