बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कुन राजमार्गका लागि सरकारले कति बजेट छुट्यायो?

शुक्रबार, जेठ १५ २०८३
कुन राजमार्गका लागि सरकारले कति बजेट छुट्यायो?

राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक पुल, विशेष महत्त्वका पुल र स्थानीय सडक पुलका लागि र ९ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरेको उनले संसदमा जानकारी गराएका हुन्।

काठमाडौं- सरकारले प्राथमिकताप्राप्त राष्ट्रिय राजमार्गका विस्तार तथा स्तरोन्नतिलाई प्रमुख प्राथमिकताका साथ बजेट विनियोजना गरेको छ।  

आगामी आर्थिक वर्ष करिब १ हजार किलोमिटर सडक कालोपत्रे र २७५ वटा सडक पुल निर्माण गर्ने सरकारले जनाएको छ। 

१ हजार २८ किलोमिटर लामो पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य ५ वर्षभित्र सम्पन्न गर्ने गरी आगामी आवका लागि  ३७ अर्ब ४६ करोड विनियोजन गरेको अर्थमन्त्री वाग्लेले बताएका छन्।

यसैगरी काठमाडौं-तराई-मधेस द्रुतमार्गका लागि  १७ अर्ब ६४ करोड विनियोजन गरेको अर्थमन्त्री जानकारी दिएका छन्।   आगामी वर्ष ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ निर्माण सम्पन्न  गर्ने समेत सरकारले लक्ष्य लिएको छ।

यसैगरी हुलाकी राजमार्ग आगामी ३ वर्षभित्र निर्माण सम्पन्न  गर्ने लक्ष्य सहित ४ अर्ब ६५ करोड र कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत-जुम्ला-गमगढी सडकको स्तरोन्नतिको लागि १ अर्ब रुपैयाँ विनियोजना गरिएको अर्थमन्त्रीले जानकारी दिए।

मन्त्री वाग्लेले  पुष्पलाल मध्यपहाडी राजमार्गको निर्माण आगामी ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सहित २ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेको बताए। आगामी आवमा  पुष्पलाल मध्यपहाडी राजमार्गको ६५ किलोमिटर सडक स्तरोन्नति र ५ वटा पुल निर्माण सम्पन्न गरिने उनले बताए।

यसैगरी मदन भण्डारी राजमार्ग अन्तर्गत २५ किलोमिटर सडक कालोपत्रे गर्न र पुल निर्माण गर्न१ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए।  आगामी ३ वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सडकमा निर्माणाधीन पुल सम्पन्न गर्न र राष्ट्रिय राजमार्गमा पर्ने ४० वटा ठुला पुल निर्माण तथा स्तरोन्नति गर्ने समेत मन्त्री वाग्लले बताए।

राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक पुल, विशेष महत्त्वका पुल र स्थानीय सडक पुलका लागि र ९ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरेको उनले संसदमा जानकारी गराएका हुन्।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी देखि पोखरा, मुग्लिन-आबुखैरेनी, नागढुङ्गा-मुग्लिन खण्ड अन्तर्गत ४० किलोमिटर सडक र नागढुङ्गा सुरुङ मार्ग साउन देखि सञ्चालनमा ल्याउने  गरी  ६ अर्ब ५५ करोड रुपैयाँ विनियोजन भएको छ। यसैगरी कर्णाली कोरिडोर, कालिगण्डकी कोरिडोर र कोसी कोरिडोरको  ६ अर्ब २५ करोड विनियोजन भएको छ। गल्छी-स्र्याफ्रुबेसी-रसुवागढी सडक १ अर्ब ३५ करोड  रुपैयाँ विनियोजन भएको मन्त्रीले वाग्लेले बताए। 


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend