काठमाडौं- सरकारले विद्युत् प्रसारण पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै निर्माणाधीन प्रसारण लाइन र सबस्टेशनका लागि ७० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऊर्जा प्रसारण प्रणाली सुदृढ बनाउन ठूलो लगानी गरिएको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षमा हेटौंडा–ढल्केवर प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताए। राष्ट्रिय विद्युत् प्रसारण सञ्जाललाई मजबुत बनाउँदै उत्पादन भएको विद्युत् सहज रूपमा वितरण गर्न पूर्वाधार विस्तारलाई तीव्रता दिइने सरकारको नीति छ।
त्यसैगरी अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ। छिमेकी मुलुकसँग विद्युत् व्यापार विस्तार गर्ने उद्देश्यले क्रस-बोर्डर प्रसारण संरचना विस्तार गरिने अर्थमन्त्रीले बताए।
सरकारले ऊर्जा क्षेत्रलाई दीर्घकालीन आर्थिक विकासको आधारस्तम्भका रूपमा अघि बढाउँदै प्रसारण तथा वितरण प्रणालीको क्षमता वृद्धि गर्ने लक्ष्य लिएको छ।
