काठमाडौं- आगामी आर्थिक वर्ष करिब १ हजार किलोमिटर सडक कालोपत्रे र २७५ वटा सडक पुल निर्माण हुने सरकारले घोषणा गरेको छ।
१ हजार २८ किलोमिटर लामो पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य ५ वर्षभित्र सम्पन्न गर्नेछौँ। यसै वर्ष यसै वर्ष कमला-कञ्चनपुर र नारायणगढ-बुटवल सडक खण्ड स्तरोन्नति कार्य सम्पन्न हुने जनाइएको छ।
आगामी वर्ष काँकडभिट्टा-लौकही, कमला-बागमती, बुटवल-गोरुसिङ्गे र धानखोला-लमही खण्ड अन्तर्गत ८० किलोमिटर सडक स्तरोन्नति गर्ने जनाइएको छ। बागमती-पथलैया, नारायणगढ-हेटौँडा र गोरुसिङ्गे-चन्द्रौटा खण्डको स्तरोन्नति सुरु गर्नेछौँ। पकली-कञ्चनपुर, चन्द्रौटा-धानखोला र कोहलपुर-गड्डाचौकी सडक खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्नेछौँ। पूर्व-पश्चिम राजमार्गको लागि ३७ अर्ब ४६ करोड विनियोजन गरेको जनाइएको छ।
काठमाडौँ-तराई-मधेस द्रुतमार्ग मा आगामी वर्ष ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्ने जनाइएको छ। द्रुतमार्गको लिङ्क रोड निर्माण सुरु गर्नेछौँ। यस मार्गको लागि १७ अर्ब ६४ करोड विनियोजन गरेको जनाइएको छ।
हुलाकी राजमार्ग आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने जनाइएको छ। यस अन्तर्गत घना बस्ती भएको स्थानबाट राजमार्ग चौडा गर्ने कार्य सुरु गर्दै ८ वटा सडक पुल निर्माण सम्पन्न गर्ने जनाइएको छ। यस राजमार्गको लागि ४ अर्ब ६५ करोड विनियोजन गरेको जनाइएको छ।
कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत-जुम्ला-गमगढी सडकको स्तरोन्नतिको लागि १ अर्ब बजेट व्यवस्था गरेको जनाइएको छ। पुष्पलाल मध्यपहाडी राजमार्गको निर्माण आगामी ३ वर्षभित्र सम्पन्न गर्ने जनाइएको छ। यस अन्तर्गत ६५ किलोमिटर सडक स्तरोन्नति र ५ वटा पुल निर्माण सम्पन्न गर्न २ अर्ब १६ करोड विनियोजन गरेको जनाइएको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत २५ किलोमिटर सडक कालोपत्रे गर्न र पुल निर्माण गर्न १ अर्ब ४६ करोड विनियोजन गरेको जनाइएको छ।
आगामी ३ वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सडकमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौँ। राष्ट्रिय राजमार्गमा पर्ने ४० वटा ठुला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्ने जनाइएको छ। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक पुल, विशेष महत्त्वका पुल र स्थानीय सडक पुलका लागि रु. ९ अर्ब ८७ करोड विनियोजन गरेको जनाइएको छ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी देखि पोखरा सम्मको चार लेन सडक निर्माण शीघ्र सम्पन्न हुने जनाइएको छ। मुग्लिन-आबुखैरेनी खण्डको निर्माण कार्य सुरु गर्ने जनाइएको छ। नागढुङ्गा-मुग्लिन खण्ड अन्तर्गत ४० किलोमिटर सडक स्तरोन्नति हुने जनाइएको छ। नागढुङ्गा सुरुङ मार्ग आगामी साउन देखि सञ्चालनमा ल्याउनेछौँ। यी सडक खण्डको लागि ६ अर्ब ५५ करोड विनियोजन गरेको जनाइएको छ।
कर्णाली कोरिडोरको ३१ किलोमिटर कालोपत्रे एवं ग्राभेल गर्नेछौँ। त्यस्तै कालिगण्डकी कोरिडोरको २१ किलोमिटर कालोपत्रे हुने जनाइएको छ। कोसी कोरिडोरको उत्तरी खण्डको १५ किलोमिटर कालोपत्रे गर्नेछौँ। यी तीन वटा कोरिडोरका लागि ६ अर्ब २५ करोड विनियोजन गरेको जनाइएको छ।
गल्छी-त्रिशूली-मेलम्ची-रसुवागढी सडक खण्डलाई स्तरोन्नति गर्न १ अर्ब ३५ करोड विनियोजन गरेको जनाइएको छ।
