काठमाडौं- सरकारले विदेशी विनिमय सञ्चितिको केही अंश ‘सोभरिन वेल्थ फन्ड’ मार्फत परिचालन गर्ने नीति लिने घोषणा गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सञ्चिति सहज रहेको अवस्थामा उक्त कोषमार्फत स्रोत परिचालन गरिने बताएका हुन्।
अर्थमन्त्री वाग्लेले विदेशी विनिमय सञ्चिति पर्याप्त रहेको उल्लेख गर्दै त्यसको एक भागलाई उत्पादनशील तथा रणनीतिक लगानीका क्षेत्रमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार सोभरिन वेल्थ फन्डमार्फत दीर्घकालीन प्रतिफल दिने परियोजनामा लगानी गरिनेछ।
हाल देशको कुल विदेशी विनिमय सञ्चिति करिब ३४ खर्ब ९४ अर्ब रुपैयाँ बराबर रहेको सरकारी तथ्यांकले देखाएको छ। सरकारले यो सञ्चितिको व्यवस्थापन र उपयोगलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
सरकारका अनुसार फन्डमार्फत परिचालन गरिने स्रोतलाई पूर्वाधार, ऊर्जा, उत्पादन तथा अन्य रणनीतिक क्षेत्रहरूमा लगानी गर्ने योजना रहेको छ।
