बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आर्थिक गणना : १० लाखभन्दा बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण संकलन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १५ २०८३
आर्थिक गणना : १० लाखभन्दा बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण संकलन

आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार–व्यवसाय गर्ने सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आह्वान गरेको जनाइएको छ।

काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब १४ लाख प्रतिष्ठानलाई समेट्ने लक्ष्य राखेकामा १० लाख २० हजार ९ सय ४ व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण संकलन गरेको छ।

उद्योग, व्यापार–व्यवसाय र सेवा क्षेत्रको यथार्थ विवरण पत्ता लगाउने उद्देश्यले गत बैशाख २ गतेदेखि असार ७ गतेसम्म जारी उक्त गणनामा कार्यालयले व्यवसायी तथा प्रतिष्ठानको आम्दानी, खर्च, रोजगारी, दर्ताको अवस्थालगायत विवरण संकलन गरेको हो।

तोकिएका गणक तथा सुपरीवेक्षक देशभरका वडामा पुगेर कागजी प्रश्नावलीमार्फत व्यावसायिक प्रतिष्ठानको विवरण संकलन गरिरहेको आर्थिक गणना शाखाका निर्देशक डा. वेदप्रसाद ढकालले जानकारी दिए। व्यवसायीले आफ्नो विवरण आफैँ अनलाइनमार्फत भरेर गणनामा सहभागिता जनाउनसक्ने व्यवस्था कार्यालयले गरेको छ।

यही जेठ १३ गतेसम्म अनलाइनमार्फत तीन हजार ६७९ प्रतिष्ठानको आर्थिक विवरण अनलाइन संकलन गरिएको उनले जानकारी दिए। सात हजार ४५३ व्यावसायिक प्रतिष्ठानले आफ्नो विवरण आफैँ ‘अनलाइन’बाट भर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यालयले लिइएको लक्ष्यअनुसार देशभर करिब ७० प्रतिशत कार्यप्रगति भएको जनाइएको छ। गणनाका क्रममा व्यावसायिक कृषि, खानी, उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्था, व्यापारसम्बन्धी प्रतिष्ठानलगायतको तथ्यांक संकलन गरिएको छ। विसं २०७५ मा पहिलोपटक गणना गरिएकामा यसपटक दोस्रो गणना भइरहेको छ।

देशको आर्थिक गतिविधि प्रस्तुत गर्ने र राष्ट्रिय आर्थिक नीति निर्माणमा आधार प्रदान गर्ने उद्देश्यले गणना गरिएको हो। संकलित विवरणका आधारमा सरकारलाई व्यावसायिक नीति, वाणिज्य नीति तथा आर्थिक विकासका तथ्यपरक योजना बनाउन सहज हुने जनाइएको छ।

सबै प्रकारका औपचारिक तथा अनौपचारिक उद्योग, व्यापार–व्यवसाय र सेवा क्षेत्रलाई समेट्न लागिएको उक्त गणनाका लागि तीन हजार ९०६ गणक तथा ५२६ सुपरीवेक्षक खटिएका छन्।

कार्यालयले आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार–व्यवसाय गर्ने सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आह्वान गरेको जनाइएको छ।

देशको आर्थिक विकासका लागि महत्त्वपूर्ण तथ्यांक प्रदान गर्ने अपेक्षा गरिएको उक्त कार्यक्रममा सबै प्रदेशमा प्रमुख सचिवको अध्यक्षतामा प्रदेश आर्थिक गणना समन्वय समिति तथा जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला आर्थिक गणना समन्वय समिति गठन गरिएको छ। गणनालाई बढी भरपर्दो र विश्वासिलो बनाउन वडामा समेत समिति गठन गरिएको जनाइएको छ।


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३११:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend