बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विदेशी लगानीसहित उद्योग दर्ता ११.८ प्रतिशतले बढ्यो, चिनियाँ लगानी अग्रस्थानमा

बिहीबार , जेठ १४ २०८३
विदेशी लगानीसहित उद्योग दर्ता ११.८ प्रतिशतले बढ्यो, चिनियाँ लगानी अग्रस्थानमा

नेपालले हालसम्म चीनका ३ हजार ६१७ परियोजनाका लागि ३ खर्ब ३९ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। यस्तै भारतका ९४५ परियोजनाका लागि १ खर्ब १२ अर्ब २० करोड रुपैयाँ लगानी स्वीकृत गरिएको छ।

काठमाडौं- मुलुकमा गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आर्थिक वर्ष २०८२/८३ मा उद्योग विभागमा दर्ता भएका उद्योगको संख्या बढेको देखिएको छ।

आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आवको फागुनसम्म स्वदेशी तथा विदेशी लगानीका उद्योग दर्ता संख्या ११ दशमलव ८ प्रतिशतले बढेर ११ हजार १४० पुगेको छ।

गत आवको सोही अवधिमा यस्तो संख्या ९ हजार ९६३ रहेको थियो। चालु आवको फागुनसम्म उद्योग विभागमार्फत ३ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँ बराबरका स्वदेशी तथा विदेशी लगानीका परियोजना स्वीकृत भएका छन्।

सर्वेक्षणले उद्योग विभागमा दर्ता हुनेमध्ये साना उद्योगको हिस्सा अत्यधिक रहेको देखाएको छ। हालसम्म स्वीकृत उद्योगमध्ये ८२ दशमलव २ प्रतिशत साना, ९ दशमलव ४ प्रतिशत मझौला र ८ दशमलव ४ प्रतिशत ठूला उद्योग रहेका छन्।

पछिल्लो समय लगानीका लागि वातावरण क्रमशः सहज बन्दै गएको, नीतिगत सुधारका प्रयास भइरहेका तथा स्वचालित मार्गबाट लगानी स्वीकृत हुन थालेकाले पनि लगानी आकर्षण बढेको हुन सक्ने देखिन्छ।

मुलुकमा स्वदेशी तथा विदेशी लगानीका अधिकांश परियोजना उद्योग विभागमार्फत नै स्वीकृत हुने गरेका छन्। आर्थिक सर्वेक्षणअनुसार २०८२ फागुनसम्म नेपालमा कुल ४९ खर्ब ५२ अर्ब ६ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ। त्यसमध्ये ६७ दशमलव ४ प्रतिशत लगानी उद्योग विभागबाट र ३२ दशमलव ६ प्रतिशत लगानी लगानी बोर्ड नेपाल बाट स्वीकृत भएको छ।

२०८२ असारसम्म उद्योग विभागले ३३ खर्ब ३७ अर्ब ८० करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ भने लगानी बोर्ड नेपालले १६ खर्ब १४ अर्ब २६ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। स्वदेशी र विदेशी दुवै प्रकारका लगानी उद्योग विभागले स्वीकृत गर्ने भएकाले त्यहाँबाट स्वीकृत लगानीको हिस्सा बढी देखिएको अर्थ मन्त्रालयले जनाएको छ।

विदेशी लगानीका हिसाबले चीन अग्रस्थानमा रहेको छ। स्वीकृत कुल विदेशी लगानीमध्ये चीनको हिस्सा ४८ प्रतिशत पुगेको छ। त्यसपछि भारत को १७ दशमलव ९ प्रतिशत र अन्य देशहरूको हिस्सा ३४ दशमलव १ प्रतिशत रहेको छ।

नेपालले हालसम्म चीनका ३ हजार ६१७ परियोजनाका लागि ३ खर्ब ३९ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। यस्तै भारतका ९४५ परियोजनाका लागि १ खर्ब १२ अर्ब २० करोड रुपैयाँ लगानी स्वीकृत गरिएको छ।

आर्थिक सर्वेक्षणअनुसार नेपालमा चीन, भारत, हङकङ, दक्षिण कोरिया, अमेरिका लगायत मुलुकबाट लगानी स्वीकृत भएको छ।


प्रकाशित : बिहीबार , जेठ १४ २०८३१६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend