बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सीआईबीको अनुसन्धानपछि ५६ हाई-प्रोफाइल व्यक्तिको सेयर रोक्का गर्न धितोपत्र बोर्डलाई पत्राचार

बिहीबार , जेठ १४ २०८३
सीआईबीको अनुसन्धानपछि ५६ हाई-प्रोफाइल व्यक्तिको सेयर रोक्का गर्न धितोपत्र बोर्डलाई पत्राचार

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले धितोपत्र बजारमा संलग्न विभिन्न ५६ जना हाई-प्रोफाइल व्यक्तिहरूको सेयर रोक्का राख्न नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पत्राचार गरेको छ।

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले धितोपत्र बजारमा संलग्न विभिन्न ५६ जना उच्च पदस्थ व्यक्तिहरूको सेयर रोक्का राख्न नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पत्राचार गरेको छ। धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरसम्बन्धी अनुसन्धानका लागि आवश्यक भन्दै सीआईबीले यस्तो कदम चालेको हो।

सीआईबीले २०८३ जेठ ११ गते पठाएको पत्रमा सम्बन्धित व्यक्तिहरूको सेयर रोक्का राख्नुका साथै उनीहरूको विस्तृत लगानी विवरण उपलब्ध गराउन समेत आग्रह गरिएको छ। सो पत्र नेपाल धितोपत्र बोर्डको अनुसन्धान तथा कारबाही शाखालाई सम्बोधन गरिएको जनाइएको छ।

अनुसन्धान दायरामा रहेको मुद्दा नेपाल धितोपत्र बोर्डकै जाहेरीमा आधारित रहेको र सो मुद्दामा नेपाल सरकार वादी तथा दीपक भट्टसहितका व्यक्तिहरू प्रतिवादी रहेको बताइएको छ। सोही प्रकरणको अनुसन्धानलाई अघि बढाउने क्रममा सीआईबीले सेयर बजारमा संलग्न विभिन्न व्यक्तिहरूको सम्पत्ति विवरण र लगानी संरचना अध्ययन गर्न थालेको हो।

सीआईबीको पत्रअनुसार बीमा तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कम्पनीहरूमा उच्च पदस्थ व्यक्तिहरूको लगानीसमेत अनुसन्धानको घेरामा परेको छ। सूचीमा हिमालयन रिइन्स्योरेन्स, माइक्रो इन्स्योरेन्स कम्पनीहरू, जीवन बीमा कम्पनी तथा मर्चेन्ट बैंकर र क्यापिटल कम्पनीका सञ्चालक तथा लगानी समिति सदस्यहरू समेटिएका छन्।

हिमालयन रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला तथा लगानी समिति सदस्य मनिष कुमारको सेयर रोक्का गर्न पत्राचार गरिएको छ।

त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालक सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, बद्री सिग्देल, प्रविना दाहाल र सुजल मल्ल पनि सूचीमा परेका छन्।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सञ्चालक तथा लगानी समितिसम्बन्धी पदाधिकारीहरू डा. जयप्रकाश जैसवाल, उदयनारायण भट्टराई, प्रमोद प्रसाद भट्टराई, ज्योती अग्रवाल, नवराज मुडभरी, प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा अन्य सदस्यहरू पनि अनुसन्धान दायरामा रहेका छन्।

यस्तै हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक तथा लगानी समिति सदस्यहरू विवेक कुमार शाह, लक्ष्मण ज्ञावली, राजीव प्रसाद प्याकुरेल, आशिष ढकाल, सौरभ दुगड, सचिन आचार्य, प्रमिला के.सी. र दिगम्बर झा पनि सूचीमा समेटिएका छन्।

अन्य वित्तीय संस्थातर्फ हिमालय सेक्युरिटी बैंकरका सञ्चालक सित्ताराम वाग्ले र आकांक्षा गुप्ता, हिमालयन क्यापसर्भका अध्यक्ष शिशिर गैह्रे, हिमालयन इन्भेष्टमेन्ट बैंकरका अध्यक्ष कपिल कुमार दाहालसहित राजन प्रसाद अधिकारी, बिनु घिमिरे, नारायण कुमार अधिकारी, उत्सव प्रधानाङ्ग, सुभाष पौडेल, शालिनी संघई र प्रतिक जोशीको नाम पनि उल्लेख गरिएको छ।

त्यसैगरी क्रेष्ट माइक्रो इन्स्योरेन्सका विदुर पुरी तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सकी कीर्तिका अग्रवाल र दिनेश सरियाको पनि सेयर रोक्का गर्न सीआईबीले आग्रह गरेको छ।

सीआईबीका अनुसार धितोपत्र बजारमा सम्भावित अनियमितता तथा वित्तीय कारोबारसँग सम्बन्धित विषयमा गहिरो अनुसन्धान भइरहेको छ। आवश्यक परे थप व्यक्तिहरूको सम्पत्ति तथा लगानी विवरणसमेत माग गरिने बताइएको छ।

नेपाल धितोपत्र बोर्डले भने सीआईबीको पत्रअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। अनुसन्धान प्रक्रियालाई प्रभावित नगरी तथ्यगत रूपमा छानबिन अघि बढाइने तयारी रहेको बताइएको छ।

सीआईबीको यो कदमसँगै धितोपत्र बजार तथा वित्तीय क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूको लगानी संरचनामाथि पुनः व्यापक निगरानी सुरु भएको छ।


प्रकाशित : बिहीबार , जेठ १४ २०८३०७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend