काठमाडौं- भारत सरकारको अनुदान सहयोगमा भूकम्प प्रभावित ८ जिल्लामा १४ वटा विद्यालय निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) र निर्माण कम्पनीहरूबीच गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौं, काभ्रेपलाञ्चोक, रामेछाप तथा सिन्धुपाल्चोक जिल्लामा विद्यालय निर्माणका लागि सम्झौता गरिएको हो।
परियोजना भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहायता कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको हो। विद्यालय निर्माणका लागि भारत सरकारले ५६ करोड २ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने जनाएको छ।
सम्झौता हस्ताक्षर कार्यक्रममा भारतीय राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका काउन्सलर, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक, इकाईका अधिकारीहरू तथा ठेकेदार कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
निर्माण हुने विद्यालयहरू नेपाल सरकारको भूकम्प प्रतिरोधी पुनर्निर्माण मापदण्डअनुसार तयार गरिने जनाइएको छ। परियोजना अन्तर्गत शैक्षिक भवन, फर्निचरसहितका कक्षाकोठा तथा छात्र र छात्राका लागि छुट्टाछुट्टै सरसफाइ संरचना निर्माण गरिनेछ।
भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत यसअघि ८ जिल्लामा ७० वटा विद्यालय तथा त्रिभुवन विश्वविद्यलय को केन्द्रीय पुस्तकालय निर्माण सम्पन्न भइसकेको छ। ती संरचना सन् २०२४ जनवरीमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।
भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणका साथै नेपालको सामाजिक तथा आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
