बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सर्वोच्च अदालतमा गोला प्रथाबाट पेसी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बारको आपत्ति

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ११ २०८३
सर्वोच्च अदालतमा गोला प्रथाबाट पेसी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बारको आपत्ति

'यसलाई स्वीकार गर्ने कि हटाउने? सरकारविरुद्ध केही बोल्यो कि यो झोले हो भनेर दश हजार मान्छे परिचालन गर्छ अहिले। यो बेलामा पनि हामीले विवेक गुमाउनु त भएन। यो समयमा पनि हाम्रा श्रीमानहरुलाई बलियो बनाउने वकिलहरुले नै हो।’

काठमाडौं- नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागु गरिएको गोलाप्रथा पेसी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका छन्।

काठमाडौंमा आयोजित ‘मानसिक सुस्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गोलाप्रथा पेसी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका हुन्। उनले गोलाप्रथामार्फत पेसी तोक्नुको सट्टा प्रधानन्यायाधीश स्वयंले पेसी तोक्ने प्रणालीले न्यायपालिकालाई राजनीतिक प्रभावतर्फ धकेल्ने चेतावनी दिए।

उनले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा प्रणाली हटाए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए। उनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै संवैधानिक परिषद्मार्फत प्रधानमन्त्रीलाई मन पर्ने व्यक्तिलाई नियुक्ति गर्ने अभ्यासको थालनि गरिएको टिप्पणी गरे।

उनले सरकारको आलोचना गर्ने व्यक्तिलाई ‘झोले’को ट्याग भिराउन हजारौँ व्यक्ति परिचालन गर्ने गरिएको समेत टिप्पणी गरे। उनले अहिले न्यायपालिकाले गम्भीर परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा कानून व्यवसायीहरूले विवेक गुमाउन नहुने बताए।

‘अहिले सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली हटाउने भन्ने कुरा आइरहेको छ। यदि त्यो हटायो भने के आन्दोलन गर्ने भन्ने अर्को एन्जाइटी छ। अब प्रधानन्यायाधीश हुनको लागि पनि त्याग तपस्या गर्नुपर्दैन। संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई जे मन लाग्यो त्यसैलाई राख्ने गर्ने अभ्यास थालियो। प्रधानमन्त्रीलाई मन पर्ने व्यक्तित्व भयो भने प्रधानन्यायाधीश हुन पाउने प्रवृत्ति विकास भएको हो कि?' उनले भने।

उनले अघि भने, 'यसलाई स्वीकार गर्ने कि हटाउने? सरकारविरुद्ध केही बोल्यो कि यो झोले हो भनेर दश हजार मान्छे परिचालन गर्छ अहिले। यो बेलामा पनि हामीले विवेक गुमाउनु त भएन। यो समयमा पनि हाम्रा श्रीमानहरुलाई बलियो बनाउने वकिलहरुले नै हो।’

न्यायालय तथा न्यायाधीशलाई बलियो बनाउने दायित्वसमेत कानून व्यवसायीकै भएको उनको भनाइ छ।


प्रकाशित : सोमबार, जेठ ११ २०८३११:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend