काठमाडौं- नेपाल प्रहरी प्रधानकार्यालय नक्सालमा बेसमेन्ट र भुँइ तल्ला बाहेक १४ तले भवन निर्माण गरिने भएको छ। प्रहरी महानिरीक्षक सचिवालय भवन निर्माणमा १ अर्ब ६१ करोड ५८ लाख ७ हजार रुपैयाँ खर्च गर्न लागिएको हो।
भवन निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्राललयले राय सुझावका लागि सार्वजनिक गरेको छ। गृह मन्त्रालयको सिफारिसमा रिपोर्ट वन तथा वातावरण मन्त्रालयमा आएको हो।
महानिरीक्ष सचिवालय भवन नेपाल प्रहरीको आफ्नै स्वामित्वको रहेको ६२ हजार ४ सय ८१ वर्गमिटर क्षेत्रफल जग्गामा निर्माण हुने छ।। उक्त भवनको निर्माण क्षेत्र ११ हजार ३ सय ३१ वर्गमिटर रहेको छ भने भवनको लम्बाइ ५५.९ मिटर, चौडाइ ३६.८५ मिटर र उचाइ ५०.४० मिटर रहने सिफारिस गरिएको रिपोर्टमा उल्लेख छ। बेसमेन्ट बाहेक भवनमा १४ तला रहनेछ।
भवन स्थायित्व र भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवनको फाउण्डेसन म्याट फाउण्डेसन र पाइल फाउण्डेसनमा आधारित हुने रिपोर्टमा उल्लेन छ। भवनमा दुई वटा सामान्य लिफ्ट, दुई वटा सिढी र आपत्कालीन सिढी रहने छ।
पार्किङको लागि वेसमेन्टमा २७ वटा चार पाङ्ग्रे र १५२ वटा दुई पाङ्ग्रे पार्किङ सुविधा हुने रिपोर्टमा उल्लेख छ। वेसमेन्टमा पार्किङ, प्राथमिक उपचार कक्ष र बहुउद्देश्यीय हल, भुइँ तला र पहिलो तला प्रशासनिक तथा बैठक कक्ष, रिपोर्टिङ र फोटोग्राफी शाखा र दोस्रो र तेस्रो तलामा सचिवालय कार्यालय कक्ष, भीआईपी अतिथि कक्ष, कमाण्डर र डीएसपी कार्यालय रहनेछ।
चौथो र पाँचौँ तलामा प्रशासनिक शाखा, डीएसप/इन्सपेक्टर कार्यकक्ष, छैठौँ र सातौँ तलामा श्रव्यदृश्य र जनसम्पर्क शाखा, आठौँ र नवौँ तलामा कानून तथा मानव अधिकार शाखा, दशौँ तलामा व्यारेक, जिम र आगन्तुक कक्ष, एघारौं र बाह्रौँ तलामा युटिलिटी स्पेस र तेहौँ तलामा छत र भर्याङ रहने छ। भवनको डिजाइन अपाङ्ता मैत्री, पहुँचयोग्य र सेवाग्राहीमैत्री बनाइने रिपोर्टमा उल्लेख छ।
