कास्की- पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र निर्माण गरिएका अतिक्रमित संरचना आजदेखि हटाउन सुरु गरेको छ।
सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउन महानगरले दिएको ३५ दिने समयसीमा शनिबार सकिएसँगै अभियान थालिएको हो। महानगरले गत वैशाख ३ गते सूचना जारी गर्दै खोलाघरभित्र बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति र संस्थालाई खाली गर्न निर्देशन दिएको थियो।
महानगर प्रमुख धनराज आचार्य ले २०८० असारमा गरिएको फिर्केखोला नापजाँच प्रतिवेदनका आधारमा खोलाघरभित्र बनेका सबै प्रकारका संरचना हटाइने बताए। उनका अनुसार आजदेखि तीन स्थानबाट एकसाथ डोजर परिचालन गरिनेछ।
पहिलो चरणमा पोखरा–२ र १८ को सिमाना अँधेरिकुनाबाट वडा नं ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिर क्षेत्रबाट वडा नं ५ र ८ तर्फ तथा पोखरा–७ र ८ को सिमाना जिरोकिलोमिटरस्थित लायन्स भवन क्षेत्रबाट फेवाताल तर्फ संरचना हटाउने अभियान सञ्चालन गरिने महानगरले जनाएको छ।
महानगरका अनुसार अभियान सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिको नेतृत्वमा सञ्चालन हुनेछ।
सूचना जारी भएसँगै केही संस्था तथा व्यवसायीले भने आफ्ना संरचना खाली गर्न थालेका छन्। फिर्के क्षेत्रमा रहेको लायन्स क्लबले शुक्रबार नै सामान सारेको छ भने फोटोग्राफर सङ्घलगायत अन्य संस्थाले पनि भवन खाली गरिसकेका छन्।
महानगरले तयार गरेको नापजाँच प्रतिवेदनअनुसार फिर्केखोलाको खोलाघरमाथि स्थायी तथा अस्थायी गरी १६० वटा संरचना निर्माण गरिएको पाइएको छ। प्रतिवेदनमा खोलामै मिचेर ९७ अस्थायी र ३५ स्थायी संरचना बनाइएको उल्लेख छ।
त्यसैगरी, खोलामाथि १० अस्थायी र १८ स्थायी संस्थागत संरचना निर्माण गरिएको महानगरको तथ्यांकमा उल्लेख छ।
पोखरा महानगरपालिका–१८, २, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने फिर्केखोलाको कुल लम्बाइ आठ किलोमिटर रहेको छ। प्राविधिक नापजाँचका क्रममा खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको पाइएको थियो।
नापजाँचपछि खोलाघरको सीमांकन गर्दै पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ सीमास्तम्भसमेत गाडिएको महानगरले जनाएको छ। रासस
