काठमाडौं- नेपालको संसदीय इतिहासमा नयाँ अध्याय थपिने संकेतस्वरूप आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण सिंहदरबार स्थित निर्माणाधीन अत्याधुनिक संघीय संसद भवनबाट गर्नेगरी सरकारले अन्तिम तयारी तीव्र पारेको छ।
यससँगै बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करोडौं रुपैयाँ भाडा तिरेर सञ्चालन हुँदै आएको संसद बैठक अब आफ्नै स्थायी, प्रविधियुक्त र सुरक्षित भवनमा फर्किने भएको छ।
गत वर्षको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा बानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा रहेको संसद भवन क्षतिग्रस्त भएपछि वैकल्पिक संरचनाबाट बैठक सञ्चालन हुँदै आएको थियो।
निर्माणाधीन नयाँ संसद भवनमा मुख्य सभाहल, गजुर शैलीको विशाल फलामे गुम्बज तथा सांसद बस्ने कक्षहरूको निर्माण अन्तिम चरणमा पुगेको छ।
यो संरचना नेपालकै सबैभन्दा सुरक्षित, भूकम्प–प्रतिरोधी तथा अत्याधुनिक प्रविधियुक्त भवनका रूपमा निर्माण भइरहेको दाबी गरिएको छ। बजेट भाषणलाई लक्षित गर्दै निर्माणस्थलमा २४ सै घण्टा शिफ्टमा कामदार परिचालन गरिएको छ।
भवनको सबैभन्दा प्रमुख आकर्षण माथिल्लो डबल–डेकर फलामे ट्रस संरचनासहितको गोलाकार गुम्बज हो, जसले मुख्य प्रतिनिधि सभा हलको छाना ढाकेको छ। प्राकृतिक प्रकाश सिधै प्रवेश गर्न मिल्ने गरी डिजाइन गरिएको यो संरचनाले ऊर्जा खपत घटाउन पनि सहयोग गर्ने प्राविधिकहरूको भनाइ छ।
तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल










