काठमाडौं- कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलगायत विरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको छ।
यसअघि तत्कालीन महान्यायाधिवक्ता सबिता गौतम भण्डारीले रविविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी मुद्दा फिर्ता लिन स्वीकृत दिएकी थिइन्।
सोही परिपत्रअनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रविको दुई वटा कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै निवेदन दिएको थियो।
निवेदनमाथि शुक्रबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले फैसला गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको हो।
अदालतको पछिल्लो आदेशसँगै लामिछाने, सूर्यदर्शन प्रकरणका मुख्य अभियुक्त मानिएका जीबी राई (गितेन्द्रबाबु राई), पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरूविरुद्ध अब सहकारी ठगीसम्बन्धी आरोपमात्रै कायम रहने भएको छ।
यसअघि उनीहरूमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा कसुरमा अभियोजन गरिएको थियो।


