बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मध्यपूर्वको परिस्थिति सुधारोन्मुख, कन्ट्रोल रुमको समय घटाइयो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ८ २०८३
मध्यपूर्वको परिस्थिति सुधारोन्मुख, कन्ट्रोल रुमको समय घटाइयो

काठमाडौं- नेपाल सरकारले पश्चिम एसिया क्षेत्रको पछिल्लो विकसित राजनीतिक तथा सुरक्षा घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ।

काठमाडौं- नेपाल सरकारले मध्यपूर्व क्षेत्रको पछिल्लो विकसित राजनीतिक तथा सुरक्षा घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ। 

उक्त क्षेत्र हालसम्म तनावपूर्ण नै रहे तापनि सार्थक वार्ताको सम्भावना बलियो बन्दै गएको र विशेषगरी मे महिना सुरु भएयता स्थिति क्रमशः सुधारोन्मुख रहेको सरकारको मूल्यांकन छ।

विश्वव्यापी शान्तिका लागि भइरहेका कूटनीतिक प्रयासहरूलाई सफल पार्नु, स्ट्रेट अफ हर्मूज्को अवरोध खुलाउनु र त्यस क्षेत्रमा दिगो शान्ति स्थापना गर्नु नै हालको सर्वाधिक आवश्यकता रहेको भन्दै नेपालले यसका लागि जारी द्विपक्षीय तथा बहुपक्षीय प्रयासहरूको समर्थन गरेको छ।

यो अवरोध छिट्टै खुल्ने र यसबाट प्रभावित भएको विश्वव्यापी आपूर्ति शृङ्खला तथा आकाशिएको बजार मूल्य बिस्तारै सामान्यीकरणतर्फ उन्मुख हुने अपेक्षा समेत गरिएको छ।

यसैबीच मध्यपूर्वका विभिन्न मुलुकमा कार्यरत रहेका नेपाली नागरिकहरूको अवस्था हाल सामान्य नै रहेको र उनीहरूको सुरक्षा तथा हितका विषयमा सरकार निरन्तर सजग रहेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। 

संकटका बेला सहयोगका लागि मन्त्रालयमा स्थापना गरिएको आकस्मिक कन्ट्रोल रुम कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणाली र उक्त क्षेत्रमा रहेका नेपाली नियोगहरूका हटलाइनहरू हालसम्म पनि निरन्तर सञ्चालनमै रहेका छन्। 

यद्यपि, पछिल्लो समय परिस्थिति सहज बन्दै गएकाले उक्त कन्ट्रोल रुमलाई अब २४ घण्टा सञ्चालन गर्नु नपर्ने र बिहान ९ बजेदेखि राती ९ बजेसम्म मात्र सञ्चालन गरिने गरी समय परिमार्जन गरिएको छ। हालसम्म उक्त कन्ट्रोल रुममा १६० भन्दा बढी फोन कल, ५० भन्दा बढी इमेल, ११० भन्दा बढी अनलाइन मेसेजिङ प्लेटफर्म र १० जनाभन्दा बढी भौतिक रूपमा उपस्थित भई कुल ३३० भन्दा बढी पटक सम्पर्क भएको तथ्याङ्क छ।

पछिल्लो ४८ घण्टामा मात्र दुई पटक सम्पर्क भएको र कन्सुलर सेवा विभागको अनलाइन फाराम भर्ने नेपालीहरूको संख्या हाल ८७ हजार ८ सय ६३ पुगेको भए तापनि पछिल्लो १४ दिनमा जम्मा १२ जनाले मात्र नयाँ दर्ता गराएकाले स्थिति सामान्य बन्दै गएको पुष्टि हुन्छ।

सरकारले मध्यपूर्व क्षेत्रमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई कुनै पनि प्रकारको समस्या परेमा तत्काल नजिकको नेपाली नियोगमा सम्पर्क गर्न, स्थानीय सुरक्षा नियमहरूको पूर्ण पालना गर्न र साइबर कानुन आकर्षित हुने खालका कुनै पनि वर्जित गतिविधिहरूमा संलग्न नहुन पुनः आग्रह गरेको छ। 

विशेषगरी इरानमा रहेका ११ जना नेपालीमध्ये स्वैच्छिक रूपमा तेहरानमै बस्दै आएका १० जना नागरिक सुरक्षित र दोहास्थित नेपाली नियोगको निरन्तर सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। त्यहाँबाट एकजना नागरिक बाहिरिएको र अर्का एकजना थपिएकाले हाल तेहरानमा १० जना नै कायम रहेका छन्।

यसैगरी, इरानको बन्दर अब्बासमा थुनामा राखिएका नेपाली नागरिक अमृत झाका विषयमा गत सोमबार नै विज्ञप्ति जारी गरी सत्यतथ्य सार्वजनिक भइसकेको छ। 

उक्त मुद्दा इरानको स्थानीय अदालतमा विचाराधीन रहेको र यसको निरूपण त्यहाँकै कानुनअनुसार हुने भएकाले, सरकारले उपलब्ध सबै माध्यमको प्रयोग गरेर झाको निष्पक्ष सुनुवाइ सुनिश्चित गर्नका लागि निरन्तर कूटनीतिक पहल जारी राखेको छ।


प्रकाशित : शुक्रबार, जेठ ८ २०८३१७:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend