बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

महासंघमा वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको उम्मेदवारी फिर्ता, अब संघाई र सुरकृष्ण वैद्यबीच प्रतिस्पर्धा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ८ २०८३
महासंघमा वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको उम्मेदवारी फिर्ता, अब संघाई र सुरकृष्ण वैद्यबीच प्रतिस्पर्धा

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा वरिष्ठ उपाध्यक्ष पदको प्रतिस्पर्धा अब दुई जनाबीच सीमित भएको छ। हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएपछि अब उक्त पदका लागि रामचन्द्र संघाई र सुरकृष्ण वैद्यबीच सीधा प्रतिस्पर्धा हुने भएको छ।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा वरिष्ठ उपाध्यक्ष पदको प्रतिस्पर्धा अब दुई जनाबीच सीमित भएको छ। हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएपछि अब उक्त पदका लागि रामचन्द्र संघाई र सुरकृष्ण वैद्यबीच सीधा प्रतिस्पर्धा हुने भएको छ।

महासंघ सचिवालयमा केही बेरमै मतदान हुने तयारी भइरहेका बेला ढकालले उम्मेदवारी फिर्ता लिएसँगै निर्वाचन समीकरणमा महत्वपूर्ण परिवर्तन आएको हो। यसअघि वरिष्ठ उपाध्यक्ष पदमा त्रिपक्षीय भिडन्त देखिएको थियो।

महासंघको विधान–२०४९ (सातौं संशोधनसहित) को दफा २९.५ र २९.८ अनुसार निर्वाचित कार्यसमितिबाट वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्ने व्यवस्था छ।

वरिष्ठ उपाध्यक्ष पदका लागि अब रामचन्द्र संघाई र सुरकृष्ण वैद्यबीच मात्र प्रतिस्पर्धा रहने भएको छ। संघाईको प्रस्तावक ईश्वर जीसी र समर्थक अभिज्ञा मल्ल छन् भने वैद्यको प्रस्तावक कृष्णप्रसाद शर्मा र समर्थक रविन पुरी रहेका छन्।

यसैबीच कोषाध्यक्ष पदमा भने मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेलबीच प्रतिस्पर्धा कायम रहेको छ। मनिषलाल प्रधानको प्रस्तावक दिलसुन्दर श्रेष्ठ र समर्थक नानीराज घिमिरे छन् भने अम्बिकाप्रसाद पौडेलको प्रस्तावक बाबुकाजी कार्की र समर्थक भक्तबहादुर हमाल छन्।

महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधानलाई अघि सारेका छन्। यता निवर्तमान अध्यक्ष चन्द्र ढकाल पक्षबाट ढकाल समूहको समर्थन हेमराज ढकालतर्फ रहेको चर्चा थियो, तर उम्मेदवारी फिर्तापछि उक्त समीकरण बदलिएको छ।

उपाध्यक्ष प्रवलजंग पाण्डेले भने फरक समीकरण अघि सार्दै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई र कोषाध्यक्षमा अम्बिकाप्रसाद पौडेललाई समर्थन गरेका छन्। यसले महासंघभित्र आन्तरिक शक्ति सन्तुलनलाई अझ रोचक बनाएको छ।

महासंघले यस पटक अध्यक्षद्वारा मनोनित सात सदस्यलाई पनि मताधिकार दिने निर्णय गरेको छ। ती सदस्यहरूमा कम्तीमा दुई महिला रहने गरी विभिन्न समूहको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

 


प्रकाशित : शुक्रबार, जेठ ८ २०८३१४:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend