काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औं वार्षिक साधारणसभापछि गठित नयाँ कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया अघि बढाएको छ। महासंघ सचिवालयमा केही बेरमै मतदान हुँदैछ।
महासंघको विधान-२०४९ (सातौं संशोधनसहित) को दफा २९.५ र २९.८ अनुसार निर्वाचित कार्यसमितिबाट वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गरिने व्यवस्था छ।
वरिष्ठ उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। उम्मेदवारहरूमा रामचन्द्र संघाई, सुरकृष्ण वैद्य र हेमराज ढकाल रहेका छन्। रामचन्द्र संघाईको प्रस्तावक ईश्वर जीसी र समर्थक अभिज्ञा मल्ल छन्। सुरकृष्ण वैद्यको प्रस्तावक कृष्णप्रसाद शर्मा र समर्थक रविन पुरी रहेका छन् भने हेमराज ढकालको प्रस्तावक नरेशलाल श्रेष्ठ र समर्थक लिलेन्द्र प्रधान छन्।
त्यसैगरी कोषाध्यक्ष पदका लागि मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ। मनिषलाल प्रधानको प्रस्तावक दिलसुन्दर श्रेष्ठ र समर्थक नानीराज घिमिरे रहेका छन्। अम्बिकाप्रसाद पौडेलको प्रस्तावक बाबुकाजी कार्की र समर्थक भक्तबहादुर हमाल छन्।
महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधानलाई अघि सारेका छन्। यता निवर्तमान अध्यक्ष चन्द्र ढकाल पक्षबाट हेमराज ढकाललाई समर्थन रहेको छ।
महासंघभित्र उपाध्यक्ष प्रवलजंग पाण्डेले भने फरक समीकरण अघि सार्दै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई र कोषाध्यक्षमा अम्बिकाप्रसाद पौडेललाई समर्थन गरेका छन्। यसले महासंघको आन्तरिक शक्ति सन्तुलनलाई थप रोचक बनाएको छ।
महासंघले यस पटक अध्यक्षद्वारा मनोनित सात सदस्यलाई पनि मताधिकार दिने निर्णय गरेको छ। ती सदस्यहरूमा कम्तीमा दुई महिला रहने गरी विभिन्न समूहको प्रतिनिधित्व सुनिश्चित गरिएको महासंघले जनाएको छ।
यस पटकको निर्वाचनलाई महासंघको भावी नेतृत्व निर्धारणका दृष्टिले महत्वपूर्ण मानिएको छ। कारण, विधान संशोधनपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था अब अन्त्य गरिएको छ। २०८१ मंसिरमा गरिएको सातौं संशोधनअनुसार यस कार्यकालका लागि मात्रै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था लागू गरिएको थियो, जसअनुसार अञ्जन श्रेष्ठ अध्यक्ष बनेका हुन्।


