काठमाडौं- विदेशी पर्यटक हनुमानढोका दरबार सङ्ग्रहालय प्रवेश गरेबापत लिइने शुल्कमा वृद्धि भए पनि काठमाडौं महानगरपालिकाले सङ्ग्रहालय विकास समितिलाई बढेको शुल्क बुझाएको छैन।
आर्थिक वर्ष २०८०/८१ देखि विदेशी पर्यटक हनुमानढोका दरबार सङ्ग्रहालय प्रवेश गरेबापतको शुल्क बढाइएको थियो। आर्थिक वर्ष २०८०/८१ अघि सार्क राष्ट्रका पर्यटकलाई १ सय ५० र अन्य देशका पर्यटकलाई ७ सय ५० रुपैयाँ पर्यटक शुल्क लिने गरिएकामा अहिले सार्क राष्ट्रका पर्यटकसँग ५सय र अन्य देशका पर्यटकसँग १ हजार रुपैयाँ शुल्क लिने गरिएको छ।
हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति गठन आदेश २०६७ को दफा ४ (घ) बमोजिम सङ्ग्रहालय प्रवेश शुल्क निर्धारण र असुल गर्ने कर्तव्य तथा अधिकार समितिको हुने उल्लेख छ। समितिको २०६८ कात्तिक १३ गतेको निर्णयअनुसार महानगरपालिकाले सार्क राष्ट्रका पर्यटक हनुमानढोका दरबार सङ्ग्रहालय प्रवेश गरेबापत शुल्क १ सय ५० रुपैयाँ र अन्य देशका पर्यटकसँग ७ सय ५० एकल टिकट प्रणालीबाट पर्यटन सेवा शुल्क लिने निर्णय गरेको थियो।
उक्त सेवा शुल्कबाट प्राप्त रकममध्ये सार्क राष्ट्रका पर्यटकबाट उठेको रकमबाट ५० रुपैयाँ र अन्य देशका पर्यटकबाट उठेको रकमबाट २ सय ५० महानगरपालिकाले समितिलाई बुझाउने निर्णयमा उल्लेख छ। महानगरपालिकाले आर्थिक ऐन, २०८१ को अनुसूची १३ मा आव २०८०/८१ देखि बढेको शुल्क समावेश गरिएको छ।
वृद्धि भएको शुल्कको अनुपातमा समितिले प्राप्त गर्ने रकममा समेत वृद्धि हुनुपर्नेमा सो वृद्धि नभएको महालेखापरीक्षकको ६३औँ प्रतिवेदनमा उल्लेख छ। यस सम्बन्धमा समितिले अहिलेसम्म कुनै निर्णय पनि गरेको छैन। महानगरपालिकाले वृद्धि गरेको अनुपातमा २०८२ असार मसान्तसम्मको पर्यटक सेवा शुल्क ३ करोड ७ लाख ७२ हजार रुपैयाँ समितिको खातामा जम्मा नगरेको पनि महालेखापरीक्षकको ६३औँ प्रतिवेदनमा उल्लेख छ। रासस


