बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नागढुंगा देखि कलंकीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गरिने

शुक्रबार, जेठ ८ २०८३
नागढुंगा देखि कलंकीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गरिने

काठमाडौँको चन्द्रागिरि नगरपालिकामा सिसि क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

काठमाडौं- काठमाडौँको चन्द्रागिरि नगरपालिकामा सिसि क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरि नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोमा सिसि क्यामरा जडान गर्न बिहीबार नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। नगरपालिका क्षेत्रभित्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन सिसि क्यामरा जडान गर्न लागिएको हो।

उक्त समझदारीमा नगरपालिकाका प्रमुख घनश्याम गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले हस्ताक्षर गरे।  नगरप्रमुख गिरीले काठमाडौँ उपत्यका भित्रिने सबैभन्दा ठूलो र मुख्य नाका नागढुङ्गा चन्द्रागिरि नगरपालिकामा पर्ने भएकाले यस क्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी र प्रविधिमैत्री बनाउन प्रहरीसँग सहकार्य गरिएको बताए। उनले सिसिटिभी जडानपछि आपराधिक गतिविधि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नागरिक र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। 'सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव हुन्छ, स्थानीय सरकारले सुरक्षाको क्षेत्रमा गरेको यो लगानीको हामी उच्च कदर गर्दछौँ र समस्या समाधानमा प्रहरीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु', उनले भने।

हाल चन्द्रागिरि नगरपालिकाभित्र झण्डै ४०० सिसि क्यामेरा जडान गरिएका छन्। नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले नगरपालिकाभित्र जडान गरिएका क्यामराको सङ्ख्या थप गरी एक हजार ५०० पुर्याइनुका साथै नगरभित्रको सुरक्षा गर्ने लक्ष्यका साथ सिसि क्यामेरा जडान गर्न नेपाल प्रहरीसँग सम्झौता गरिएको बताए । 


प्रकाशित : शुक्रबार, जेठ ८ २०८३०९:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend