बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भिजिट भिसामा हुने विकृति अन्त्य गर्न सफल भएको अध्यागमन विभागको दाबी

शुक्रबार, जेठ ८ २०८३
भिजिट भिसामा हुने विकृति अन्त्य गर्न सफल भएको अध्यागमन विभागको दाबी

अध्यागमन विभाग ले भिजिट भिसासम्बन्धी सबै प्रकारका विकृति र विसंगति नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दाबी गरेको छ।

काठमाडौं- अध्यागमन विभाग ले भिजिट भिसासम्बन्धी सबै प्रकारका विकृति र विसंगति नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दाबी गरेको छ।

बिहीवार आयोजित ‘डिजिटल टाइम कार्ड’ शुभारम्भ कार्यक्रममा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारी ले भिजिट भिसाको नाममा हुने अनियमितता, मानव तस्करीसँग जोडिएका गतिविधि तथा अध्यागमन प्रक्रियामा देखिने विभेद अन्त्य गर्न विभाग सक्रिय रूपमा लागेको बताए।

उनले अध्यागमनसँग सम्बन्धित समस्या कार्यशैली र कानून कार्यान्वयनको कमजोरीका कारण उत्पन्न हुने गरेको उल्लेख गर्दै त्यसतर्फ विभाग सचेत भएर सुधार अभियान अघि बढाइरहेको बताए। विदेशी नागरिकको गतिविधिमाथि समेत प्रभावकारी निगरानी सुरु गरिएको उनको भनाइ थियो।

महानिर्देशक तिवारीले विगतमा नेपाली नागरिक विदेश जान खोज्दा उनीहरूको उद्देश्य र गतिविधिमाथि मात्रै कडाइ गरिने तर नेपाल आएका विदेशी नागरिकको गतिविधिप्रति पर्याप्त चासो नदिइने अवस्था रहेको भन्दै अहिले त्यसमा सुधार भइरहेको बताए।

उनले आवश्यक सबै कागजात हुँदाहुँदै पनि भिजिट भिसामा विदेश जानबाट रोकिएका नेपाली नागरिकलाई विभागमा उजुरी गर्न आग्रह गरे। कसैले अनुचित रूपमा फर्काएको प्रमाणित भए सम्बन्धित व्यक्तिलाई कारबाही गरिने र पीडककै खर्चमा गन्तव्य मुलुक पठाइने प्रतिबद्धता समेत व्यक्त गरे।

तिवारीले भने, “हामीले विभागलाई पछिल्लो आठ–दश महिनादेखि रिफर्मको मिसनकै रूपमा अघि बढाइरहेका छौँ। पछिल्लो समय भिजिट भिसादेखि अन्य विकृतिहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेलेर धेरै समस्या नियन्त्रण गर्न सफल भएका छौँ। नेपाली नागरिक विदेशमा गएर के गर्छन् भन्ने कुरालाई मात्र प्राथमिकता दिने तर विदेशी नागरिक नेपालमा आएर के गर्छन् भन्ने विषयलाई बेवास्ता गर्ने प्रवृत्तिको अन्त्य गर्न प्रणाली निर्माण गरी कार्यान्वयन गरिरहेका छौँ।”

उनले देशभरिका सेवा प्रदायक संस्थालाई समेत यो अभियानमा जोड्ने काम भइरहेको बताए। “यदि सबै कागजात पुगेको नेपाली नागरिक भिजिट भिसामा जान खोजिरहेको छ भने आज पनि उजुरी गर्न आह्वान गर्दछु। जसले फर्काएको हो उसैको पैसामा टिकट काटेर पठाउँछौँ भनेका छौँ,” उनले भने।

विभागले अध्यागमन सेवामा पारदर्शिता, कर्मचारी अनुशासन, डिजिटल निगरानी तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर सुधार अभियान अघि बढाइरहेको पनि उनले बताए।


प्रकाशित : शुक्रबार, जेठ ८ २०८३०७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend