काठमाडौं- काठमाडौंसहित देशभर निर्माण क्षेत्र ठप्पजस्तै भएपछि पेट्रोलियम पदार्थको खपतमा उल्लेख्य गिरावट आएको छ। नेपाल आयल निगमले उपलब्ध गराएको तथ्यांकअनुसार साताको दुई दिन सार्वजनिक बिदा लागु भएपछि तथा निर्माण गतिविधि सुस्तिएसँगै पेट्रोल र डिजेल दुवैको बिक्री घटेको देखिएको हो।
निगमका अनुसार बिदा निर्णयअघि र पछिको २१-२१ दिनको तुलनामा दुवै प्रमुख इन्धनको खपत घटेको छ। चैत १ देखि २१ गतेसम्म ४३ हजार १३२ किलोलिटर पेट्रोल र १ लाख ५ हजार ७७० किलोलिटर डिजेल बिक्री भएकोमा चैत २२ देखि वैशाख १२ गतेसम्म पेट्रोल ३८ हजार ६२२ किलोलिटरमा सीमित भएको छ भने डिजेल ७३ हजार ३६७ किलोलिटरमा झरेको छ।
विशेषगरी डिजेलको खपतमा आएको गिरावटलाई निर्माण क्षेत्रको गतिविधि सुस्तिनु प्रमुख कारणका रूपमा देखिएको छ। निर्माण व्यवसायीहरूले इन्धन मूल्यवृद्धि र कामको सिजनमै आएको अवरोधका कारण निर्माण कार्य ठूलो मात्रामा प्रभावित भएको बताएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष रवि सिंहका अनुसार हाल निर्माण कार्य झन्डै ९० प्रतिशतसम्म घटेको अनुमान गर्न सकिन्छ। उनका अनुसार पश्चिम एसियामा देखिएको तनाव र इन्धन मूल्यवृद्धिले निर्माण लागत अत्यधिक बढाएको छ, जसले काम नै रोक्नुपर्ने अवस्था सिर्जना गरेको हो।
उनले आफ्नो अनुभव उद्धृत गर्दै सामान्य अवस्थामा दैनिक करिब २२ हजार लिटर डिजेल खपत हुने निर्माण कम्पनीहरू अहिले एक हजार लिटरभन्दा कममा सीमित भएको बताए। उनका अनुसार निर्माण लागत करिब ६० प्रतिशतसम्म बढेको छ, जसले ठेक्का कार्यहरू प्रभावित बनाएको छ।
उद्योग–निर्माण क्षेत्रमा डिजेलको उच्च निर्भरता रहँदै आएको छ। टिपर सञ्चालन, जेनरेटर प्रयोग तथा बिटुमिन मिश्रणलगायतका काममा ठूलो मात्रामा डिजेल प्रयोग हुने भएकाले निर्माण क्षेत्र सुस्तिँदा यसको प्रत्यक्ष प्रभाव इन्धन खपतमा परेको देखिएको छ।
निगमको अनुमानअनुसार देशमा आयात हुने कुल डिजेलमध्ये करिब ६० प्रतिशत निर्माण क्षेत्रमा खपत हुने गरेको छ। निर्माण गतिविधि घटेसँगै सिमेन्ट तथा डन्डी उद्योगहरू पनि करिब २० देखि २५ प्रतिशत क्षमतामा मात्रै सञ्चालन भइरहेको व्यवसायीहरूको दाबी छ।
सरकारले साताको दुई दिन सार्वजनिक बिदा लागु गरेसँगै इन्धन खपतमा थप प्रभाव परेको देखिए पनि यसलाई मात्र कारण मान्न नसकिने विश्लेषण गरिएको छ। मूल्यवृद्धि, निर्माण सुस्तता तथा समग्र आर्थिक गतिविधिमा आएको कमीले संयुक्त रूपमा खपत घटाएको देखिन्छ।
निगमका अनुसार पछिल्लो अवधिमा डिजेलको मूल्य फागुन ४ गतेको १३९.५ रुपैयाँबाट बढेर हाल २२५ रुपैयाँ पुगेको छ। त्यस्तै पेट्रोलको मूल्य १५४.५ रुपैयाँबाट बढेर २१७ रुपैयाँ पुगेको छ, जसले पनि मागमा दबाब सिर्जना गरेको छ।
मासिक तुलनामा पनि चैतको तुलनामा वैशाखमा इन्धन खपत घटेको छ। चैतमा ५९ हजार ५३८ किलोलिटर पेट्रोल र १ लाख ४० हजार २९ किलोलिटर डिजेल बिक्री भएकोमा वैशाखमा यो क्रमशः ५८ हजार ६८० र १ लाख २ हजार ७१ किलोलिटरमा सीमित भएको हो।
अन्य पेट्रोलियम पदार्थतर्फ मट्टीतेल र एलपी ग्यासको खपतमा पनि गिरावट आएको छ। यद्यपि हवाई इन्धनको खपत भने सामान्य रूपमा वृद्धि भएको देखिएको छ।
हाल देशभर दैनिक औसत २ हजार ५०० देखि ३ हजार किलोलिटर पेट्रोल, ४ हजार ५०० देखि ५ हजार किलोलिटर डिजेल र करिब ६०० किलोलिटर हवाई इन्धनको माग रहेको छ। साथै एलपी ग्यासको मासिक खपत करिब ४५ देखि ४६ हजार मेट्रिक टन रहेको निगमले जनाएको छ।


