बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

महासंघमा शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन हुँदै, वैद्य र मनिषलाललाई अध्यक्ष श्रेष्ठको समर्थन

बिहीबार , जेठ ७ २०८३
महासंघमा शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन हुँदै, वैद्य र मनिषलाललाई अध्यक्ष श्रेष्ठको समर्थन

यता उपाध्यक्ष प्रवलजंग पाण्डेले भने फरक प्रस्ताव अघि सार्दै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई र कोषाध्यक्षमा अम्बिकाप्रसाद पौडेललाई समर्थन गरेका छन्।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६० औं वार्षिक साधारणसभापछि गठित नयाँ कार्यसमितिले अब वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्ने भएको छ। विधानअनुसार निर्वाचित कार्यसमितिबाट हुने पदाधिकारी चयनका लागि आगामी शुक्रबार (जेठ ८ गते) महासंघ सचिवालय काठमाडौंमा बैठक तथा निर्वाचन प्रक्रिया सञ्चालन हुने भएको हो।

नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधानलाई अघि सारेका छन्। यससँगै महासंघभित्र पदाधिकारी चयनलाई लिएर आन्तरिक राजनीतिक समीकरण तीव्र बनेको छ।

महासंघले जारी गरेको सूचनाअनुसार विधान–२०४९ (सातौं संशोधन सहित) को दफा २९.५ र २९.८ बमोजिम वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गरिनेछ। उक्त पदका लागि कार्यसमितिका पूर्व पदाधिकारी तथा बहालवाला सदस्यहरूबीच उम्मेदवारी मनोनयनको अवसर दिइएको छ।

यस पटकको प्रक्रियामा अध्यक्षद्वारा मनोनित सात जना सदस्यहरूलाई पनि मताधिकार दिने निर्णय गरिएको छ। ती मनोनित सदस्यहरूको प्रतिनिधित्व सुनिश्चित गर्न कम्तीमा दुई जना महिलासहित सबै समूहको सहभागिता रहने गरी मनोनयन गरिएको महासंघले जनाएको छ। महासंघका अनुसार यसअघि कार्यसमितिको निर्णयविरुद्ध परेको मुद्दामा उच्च अदालतले अन्तरिम आदेश नदिएपछि पूर्वनिर्धारित निर्वाचन प्रक्रिया अघि बढाइएको हो।

वरिष्ठ उपाध्यक्ष पदमा निवर्तमान अध्यक्ष चन्द्र ढकालको समर्थन पाएका हेमराज ढकाल, अञ्जन श्रेष्ठ प्यानलबाट सुरकृष्ण वैद्य र रामचन्द्र संघाईबीच प्रतिस्पर्धा देखिएको छ। तर अध्यक्ष श्रेष्ठले वैद्यलाई अघि सारेका छन्। त्यसैगरी वरिष्ठ उपाध्यक्षका आकांक्षीहरूमा किशोर प्रधान र भरतराज आचार्य पनि सक्रिय छन्।

कोषाध्यक्ष पदका लागि अम्बिकाप्रसाद पौडेल, मनिषलाल प्रधान र भक्त हमालको नाम चर्चामा छ। तर अध्यक्ष श्रेष्ठले मनिषलाल प्रधानलाई समर्थन गर्ने निश्चित भएको बताइएको छ। यता उपाध्यक्ष प्रवलजंग पाण्डेले भने फरक प्रस्ताव अघि सार्दै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई र कोषाध्यक्षमा अम्बिकाप्रसाद पौडेललाई समर्थन गरेका छन्।

विधान संशोधनपछि नयाँ अभ्यास

यस पटकदेखि महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाइएको छ। २०८१ मंसिरमा गरिएको सातौं संशोधनअनुसार यस कार्यकालका लागि मात्र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान लागू गरिएको थियो। सोही व्यवस्थाअनुसार अञ्जन श्रेष्ठ अहिले अध्यक्ष बनेका हुन्।

अब आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था अन्त्य भई अध्यक्ष साधारण सभाबाट प्रत्यक्ष निर्वाचनमार्फत चयन हुने व्यवस्था लागू हुनेछ। महासंघले शुक्रबार हुने निर्वाचनलाई संगठनात्मक नेतृत्व निर्धारणका दृष्टिले महत्वपूर्ण चरणका रूपमा लिएको छ।


प्रकाशित : बिहीबार , जेठ ७ २०८३१७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend