काठमाडौं- प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सन्दीप रानाले किसानले धानको ब्याड राख्ने बेला भइसक्दा पनि सिञ्चाइ योजना अलपत्र भएको बताए। सुरु गरिएका सिँचाइ योजना शीघ्र सम्पन्न गरिनुपर्नेमा उनले जोड दिए। कृषिलाई निर्वाहमुखी मात्र नभइ निर्यातमुखी बनाउने गरी बजेट व्यवस्था गर्न सांसद रानाले माग गरे।
सासद समिना मियाँले विद्युतीय चुरोट भेपको टक्सिनले मानसिक स्वास्थ्यमा असर गर्ने भएकाले यसको अवैध आयातमा रोक लगाउन माग गरिन्। सांसद समीक्षा बास्कोटाले भारतमा चिया निर्यात गर्नका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिइन्। उनले चिया निर्यातको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न माग गरिन्
सांसद सरस्वती लामाले धादिङबाट रसुवा जाने सडकका साथै धादिङका विभिन्न स्थानका सडकको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद सरिता महतोले अटिजम, डाउन सिन्ड्रोमलगायत समस्या भएका बालबालिकाको समस्यातर्फ गम्भीर बन्न सरकारसँग माग गरिन्।
सांसद सागर भुसालले कालीगण्डकी जलाशय योजना छिटो सुरु गर्न माग गरे। सुन्तला उत्पादनमा अग्रणी पर्वतलाई पकेट क्षेत्र घोषणा गर्न माग गर्दै उनले पर्वतका धार्मिक, सांस्कृतिक स्थलमा पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार विकास गरिनुपर्ने बताए।
सांसद साजिदा खातुत सिद्धिकीले दाङको टरिगाउँ क्षेत्रको सडकको समस्या समाधान गर्न माग गरिन्। सांसद सीताराम साहले डिजिटल नेपालको नीतिमा अघि बढिरहँदा टेलिफोन सेवा भरपर्दो बनाउन माग गरे। सांसद सिर्जना श्रेष्ठले सुनसरीका अव्यवस्थित बसोबासीका समस्या समाधान गर्नुपर्नेमा जोड दिइन्।
सांसद सुजाता तामाङले सरकारले विभिन्न घातक विषादीमाथि प्रतिबन्ध लगाए पनि विभिन्न बाटोबाट विषादी बिक्रीवतरण भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन्। सांसद सुनिल केसीले जेनजी आन्दोलनका कारण प्रहरीको एक हजार ६२ सवारीसाधन क्षति भएकाले बिमा गरिएकाको भुक्तानी छिटो दिने व्यवस्था मिलाउन माग गरे। रासस


