शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

इबोला प्रकोप विश्वव्यापी महामारीको अवस्थामा नरहेको विश्व स्वास्थ्य संगठनको निष्कर्ष

बिहीबार , जेठ ७ २०८३
इबोला प्रकोप विश्वव्यापी महामारीको अवस्थामा नरहेको विश्व स्वास्थ्य संगठनको निष्कर्ष

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अफ्रिकी मुलुकहरूमा फैलिएको इबोला संक्रमण हाल विश्वव्यापी महामारी (प्यानडेमिक) को अवस्थामा नपुगेको निष्कर्ष निकालेको छ।

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अफ्रिकी मुलुकहरूमा फैलिएको इबोला संक्रमण हाल विश्वव्यापी महामारी (प्यानडेमिक) को अवस्थामा नपुगेको निष्कर्ष निकालेको छ। यद्यपि, संक्रमणको जोखिम राष्ट्रिय तथा क्षेत्रीय स्तरमा भने उच्च रहेको उसले स्पष्ट पारेको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले उक्त जानकारी दिएका हुन्। उनका अनुसार मंगलबार बसेको आपतकालीन समितिको बैठकले प्रजातान्त्रिक गणतन्त्र कङ्गो र युगान्डामा देखिएको इबोला अवस्थालाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकालका रूपमा यथावत् राख्नुपर्ने निष्कर्ष निकालेको हो। तर यसलाई विश्वव्यापी महामारीको रूपमा भने वर्गीकृत गर्न नसकिने समितिको ठहर छ।

हालसम्म प्राप्त तथ्याङ्कअनुसार कङ्गोको इटुरी र उत्तरी किवु प्रान्तका बुनिया र गोमा लगायतका क्षेत्रमा ५१ जनामा इबोला संक्रमण पुष्टि भइसकेको छ। संक्रमण अझ व्यापक रूपमा फैलिन सक्ने अनुमानसमेत गरिएको छ।

यस्तै, युगान्डाको राजधानी कम्पालामा कङ्गोबाट यात्रा गरी आएका दुई व्यक्तिमा इबोला संक्रमण देखिएको छ। तीमध्ये एक जनाको मृत्यु भइसकेको छ। साथै, कङ्गोमा कार्यरत एक अमेरिकी नागरिकमा पनि संक्रमण पुष्टि भएको डब्लूएचओले जनाएको छ।

पुष्टि भएका बिरामीबाहेक करिब ६०० जना शंकास्पद संक्रमित फेला परेका छन् भने १३९ जनाको मृत्यु शंकास्पद अवस्थामा भएको विवरण सार्वजनिक गरिएको छ। भाइरस पहिचान हुनुअघि नै संक्रमण लामो समयदेखि सक्रिय रहन सक्ने भएकाले संक्रमितको संख्या अझ बढ्न सक्ने चेतावनी महानिर्देशक टेड्रोसले दिएका छन्।

संक्रमण नियन्त्रण तथा थप मानवीय क्षति रोक्नका लागि तत्काल प्रभावकारी अन्तर्राष्ट्रिय समन्वय आवश्यक रहेको डब्लूएचओले जोड दिएको छ। संगठनले आवश्यक जनशक्ति, स्वास्थ्य सामग्री, उपकरण तथा आर्थिक सहयोग परिचालन गरिरहेको जनाएको छ। साथै, आपतकालीन कोषबाट थप ३४ लाख अमेरिकी डलर स्वीकृत गरिएको छ। यससँगै इबोला नियन्त्रणका लागि कुल सहयोग रकम ३९ लाख अमेरिकी डलर पुगेको डब्लूएचओले जनाएको छ।


प्रकाशित : बिहीबार , जेठ ७ २०८३१०:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend