शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

प्रदेशगत अर्थतन्त्रको नयाँ तस्वीर : बागमतीको एक्लै ३६.७ प्रतिशत, मधेशको वृद्धिदर सबैभन्दा कमजोर

बिहीबार , जेठ ७ २०८३
प्रदेशगत अर्थतन्त्रको नयाँ तस्वीर : बागमतीको एक्लै ३६.७ प्रतिशत, मधेशको वृद्धिदर सबैभन्दा कमजोर

बागमती प्रदेशको अर्थतन्त्र २४ खर्ब २३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ, जुन राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको ३६.७ प्रतिशत हो। दोस्रो स्थानमा कोशी प्रदेश १० खर्ब ४३ अर्ब रुपैयाँसहित १५.८ प्रतिशत योगदानका साथ रहेको छ। त्यसपछि लुम्बिनी प्रदेश १४.२ प्रतिशत, मधेश प्रदेश १३.१ प्रतिशत, गण्डकी प्रदेश ९ प्रतिशत, सुदूरपश्चिम प्रदेश ७ प्रतिशत र कर्णाली प्रदेश ४.२ प्रतिशत हिस्सासहित रहेका छन्।

काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (पीजीडीपी) सम्बन्धी प्रारम्भिक अनुमान सार्वजनिक गर्दै देशको कुल अर्थतन्त्र ६६ खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।

सार्वजनिक तथ्यांक अनुसार देशको अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशको देखिएको छ भने आर्थिक वृद्धिदरमा पनि बागमती अग्रस्थानमा रहेको छ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा बागमती प्रदेशको अर्थतन्त्र २४ खर्ब २३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ, जुन राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको ३६.७ प्रतिशत हो। दोस्रो स्थानमा कोशी प्रदेश १० खर्ब ४३ अर्ब रुपैयाँसहित १५.८ प्रतिशत योगदानका साथ रहेको छ। त्यसपछि लुम्बिनी प्रदेश १४.२ प्रतिशत, मधेश प्रदेश १३.१ प्रतिशत, गण्डकी प्रदेश ९ प्रतिशत, सुदूरपश्चिम प्रदेश ७ प्रतिशत र कर्णाली प्रदेश ४.२ प्रतिशत हिस्सासहित रहेका छन्।

स्थिर मूल्यमा आधारित आर्थिक वृद्धिदर हेर्दा बागमती प्रदेशको वृद्धिदर सबैभन्दा धेरै ५.४ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। गण्डकी प्रदेश ५.०१ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ। राष्ट्रिय आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिँदा बागमती र गण्डकी मात्र राष्ट्रिय औसतभन्दा माथि देखिएका छन्।

यस विपरीत मधेश प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा कमजोर १.३१ प्रतिशत रहने अनुमान गरिएको छ। कर्णाली प्रदेशको वृद्धिदर २.९४ प्रतिशत, लुम्बिनीको २.८७ प्रतिशत, कोशीको ३.१३ प्रतिशत र सुदूरपश्चिमको ३.२८ प्रतिशत रहने अनुमान छ।

प्रदेशगत आर्थिक संरचना हेर्दा बागमती बाहेक सबै प्रदेशमा कृषि क्षेत्र नै अर्थतन्त्रको प्रमुख आधार बनेको छ। बागमतीमा भने थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा धेरै २१.७ प्रतिशत पुगेको छ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कृषि, वन तथा मत्स्य क्षेत्रले सबैभन्दा ठूलो योगदान दिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अधिकांश प्रदेशमा विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर सबैभन्दा उच्च देखिएको छ। कोशी प्रदेशमा विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर २३.७६ प्रतिशत, बागमतीमा २२.८८ प्रतिशत र गण्डकीमा २३.९ प्रतिशत रहने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने वित्तीय तथा बीमा सेवा क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै रहने प्रक्षेपण गरिएको छ।

मधेश प्रदेशमा कृषि क्षेत्रको वृद्धिदर ऋणात्मक १.२६ प्रतिशत रहने अनुमान गरिएको छ। त्यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर ऋणात्मक रहने प्रक्षेपण गरिएको छ।

प्रतिव्यक्ति आयतर्फ पनि बागमती प्रदेश स्पष्ट रूपमा अगाडि देखिएको छ। चालु आर्थिक वर्षमा बागमती प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन २६४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। गण्डकी प्रदेश १६५१ अमेरिकी डलरसहित दोस्रो स्थानमा रहेको छ। राष्ट्रिय औसत प्रतिव्यक्ति आय १५१३ अमेरिकी डलर रहने अनुमान गरिएको छ।

मधेश प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा कम ९३४ अमेरिकी डलर रहने अनुमान गरिएको छ। त्यसपछि कर्णाली ११०८ डलर, सुदूरपश्चिम ११७० डलर, लुम्बिनी १२०८ डलर र कोशी १४१० डलरमा रहने अनुमान छ।

राष्ट्रिय तथ्यांक कार्यालयले संघीय संरचनापछि प्रदेशगत आर्थिक गतिविधिको मापन, क्षेत्रीय असमानताको विश्लेषण तथा नीतिनिर्माणलाई प्रभावकारी बनाउन प्रादेशिक राष्ट्रिय लेखा प्रणाली तयार पारिएको जनाएको छ। कार्यालयले उत्पादनमा आधारित 'टप डाउन' विधिबाट प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमान गरिएको उल्लेख गरेको छ।


प्रकाशित : बिहीबार , जेठ ७ २०८३०७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend