शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

बिहीबार , जेठ ७ २०८३
मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

विगतका वर्षमा सञ्चालन गरिएका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा नेपाली सेनाले यस वर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको छ।

काठमाडौं- विगतका वर्षमा सञ्चालन गरिएका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा नेपाली सेनाले यस वर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको छ। सेनाले सङ्घीय, प्रदेश तथा स्थानीय तहका निकाय, अन्य सुरक्षा संस्था, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग समन्वय र सहकार्यलाई प्राथमिकतामा राख्दै विपद् प्रतिकार्यलाई व्यवस्थित बनाएको जनाएको छ।

नेपाली सेनाका अनुसार विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्लास्थित गण तथा गुल्ममा आवश्यक सङ्ख्यामा फौज तयारी अवस्थामा राखिएको छ। प्रदेशस्थित सबै पृतनामा आवश्यक उद्धार उपकरणसहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ। यसबाट बाढी, पहिरो तथा अन्य मनसुनजन्य विपद्का घटनामा छिटो र प्रभावकारी उद्धार गर्न सहज हुने अपेक्षा गरिएको छ।

दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन सेनाले हेलिकप्टरसहितका हवाई साधन पनि तयारी अवस्थामा राखेको जनाएको छ। काठमाडौंबाहेक सुर्खेत र इटहरीमा एक–एक वटा हेलिकप्टर ‘स्ट्यान्डबाइ’ अवस्थामा राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

मनसुन सुरु भएसँगै सातै प्रदेशमा परिचालन गर्न सकिने गरी अन्य हवाई साधन काठमाडौंमा तयारी अवस्थामा राखिने व्यवस्था गरिएको छ। मौसम पूर्वानुमानका आधारमा दुई वटा हवाई साधन उपयुक्त स्थानमा पूर्वतैनाथ गर्ने योजना सेनाले बनाएको छ।

बाढी तथा पहिरोका कारण राजमार्ग अवरुद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न विभिन्न स्थानमा ‘बेलिब्रिज’ तयारी अवस्थामा राखिएको छ। धादिङको गजुरी, चितवनको भरतपुर तथा बाराको जितपुरमा एक–एक सेट बेलिब्रिज राखिएको सेनाले जनाएको छ।

यसका साथै सवारीमार्फत सजिलै आवश्यक स्थानमा पुर्‍याएर तुरुन्त सञ्चालन गर्न सकिने तीन वटा द्रुत यान्त्रिक पुल गौचरस्थित ब्यारेकमा तयारी अवस्थामा राखिएको छ। विशेष उद्धार कार्यका लागि शीघ्र प्रतिकार्य टोलीलाई गौचर ब्यारेक, काठमाडौंमा तयारी अवस्थामा राखिएको निर्देशनालयले जनाएको छ। उक्त टोलीलाई हवाई साधनमार्फत तत्काल प्रभावित क्षेत्रमा परिचालन गर्न सकिनेछ।

मनसुनजन्य विपद्का समयमा घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन देशभरका सैनिक अस्पतालबाट चिकित्सकसहितको टोली परिचालन गर्न सकिने गरी आवश्यक जनशक्ति, उपकरण तथा औषधि तयारी अवस्थामा राखिएको छ। प्रत्येक पृतनामा औषधि, खाद्यान्न तथा अन्य राहत सामग्रीसमेत व्यवस्थापन गरिएको सेनाले जनाएको छ।

आवश्यक परेको अवस्थामा सैनिक इन्जिनियरिङ विभागबाट ‘हेभी इक्विप्मेन्ट’ र ‘अपरेटर’सहितका सवारीसाधन तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ। यसबाट पहिरो पन्छाउने, सडक खुलाउने तथा क्षतिग्रस्त संरचनाको मर्मतजस्ता कार्यमा सहयोग पुग्ने विश्वास गरिएको छ।

विपद् व्यवस्थापन केवल एउटै निकायको प्रयासबाट सम्भव नहुने भएकाले स्थानीय समुदाय र सबै सरोकारवाला निकायबीच समन्वयात्मक तथा योजनाबद्ध प्रतिकार्य आवश्यक रहेको नेपाली सेनाले जनाएको छ। विगतका मनसुनजन्य विपद्बाट सिकेका पाठका आधारमा केन्द्रदेखि जिल्ला तहसम्म सरोकारवाला निकाय तथा स्थानीय समुदायलाई सहभागी गराएर तयारीलाई थप प्रभावकारी बनाइएको सेनाको भनाइ छ।

यसैक्रममा सेनाको नेतृत्व तथा पहलमा नेपाल सरकारका विभिन्न मन्त्रालय, सरकारी निकाय तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहभागितामा गत वैशाख २१ देखि २३ गतेसम्म जङ्गी अड्डामा केन्द्रीय तहको एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’ सञ्चालन गरिएको थियो। उक्त अभ्यासमार्फत विपद्सम्बन्धी गतिविधिको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको थियो। यस्ता अभ्यास क्रमशः प्रदेश तथा जिल्ला तहसम्म विस्तार गरिने जनाइएको छ।

स्थानीय समुदायको सहभागितामा सामूहिक विपद् प्रतिकार्य तालिमसमेत सञ्चालन गरिएको सेनाले जनाएको छ। यस्ता अभ्यास र तालिमले विपद्को समयमा नागरिक र सुरक्षा निकायबीचको समन्वयलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।

सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेत का अनुसार प्रत्येक वर्ष दोहोरिने मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्यका लागि पूर्वतयारी योजनाअनुसार संयुक्त अभ्यास सञ्चालन गर्दै आवश्यकताअनुसार सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी योजनाको सफल कार्यान्वयनमार्फत जनधनको क्षति न्यूनीकरण गर्न नेपाली सेना प्रतिबद्ध रहेको छ।

मनसुनजन्य विपद्को चुनौती बढ्दै गइरहेको वर्तमान अवस्थामा सेनाले गरेको व्यापक पूर्वतयारीले विपद् व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउनुका साथै नागरिकमा सुरक्षा र भरोसाको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ ७ २०८३०६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend