काठमाडौं- अर्थमन्त्री स्वर्णिम वाग्ले ले सरकारले ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई जनतासँग गरिएको प्रतिबद्धता कार्यान्वयन गर्ने इमान्दार प्रयासका रूपमा बुझ्न सांसदहरूलाई आग्रह गरेका छन्।
मंगलवार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले सरकारले विभिन्न राजनीतिक दलका घोषणापत्रमा उल्लेख भएका विषयवस्तुहरूलाई समेत समेट्ने प्रयास गरेको बताएका हुन्।
उनले उक्त विधेयक सरकारको मात्रै दृष्टिकोण नभई संविधानका निर्देशक सिद्धान्त, राष्ट्रिय योजना, दिगो विकासका लक्ष्य, विभिन्न राजनीतिक दलका घोषणापत्र तथा नेपाली जनताले व्यक्त गरेका साझा आकांक्षालाई समेटिएको जिकिर गरेका छन्।
अर्थमन्त्री वाग्लेले 'यो विधेयकले केवल सरकारको दृष्टिकोणको मात्रै प्रतिनिधित्व गर्दैन। यसले संविधानको निर्देशक सिद्धान्त, योजना, दिगो विकास, विभिन्न राजनीतिक दलका घोषणापत्र तथा नेपाली जनताले व्यक्त गरेका साझा आकांक्षालाई समेट्ने प्रयास गरेको छ,' भन्दै जनतासँग गरिएका प्रतिबद्धतालाई कार्यान्वयनमा रूपान्तरण गर्ने इमान्दार प्रयत्नका रूपमा यसलाई ग्रहण गरिदिन सम्मानित सदनसमक्ष आग्रह गरेको बताएका छन्।
त्यस अवसरमा अर्थमन्त्री वाग्लेले राष्ट्र निर्माणसम्बन्धी बहसमा केन्द्रित भएर अघि बढ्न सांसदहरूलाई आह्वान गरेको पनि बताएका छन्।


