शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नयाँ आईटी पाठ्यक्रम तयार हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ ५ २०८३
नयाँ आईटी पाठ्यक्रम तयार हुँदै

विज्ञहरूले स्नातक तहअन्तर्गत सूचना प्रविधि विषयको पाठ्यक्रमलाई समसामयिक र व्यावहारिक बनाई उद्योग तथा व्यापारिक प्रतिष्ठानको माग सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन्।

काठमाडौं- बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न सघाउ पुर्याउने पाठ्यक्रम निर्माणसम्बन्धी बहस सुरु भएको छ।  

विज्ञहरूले स्नातक तहअन्तर्गत सूचना प्रविधि विषयको पाठ्यक्रमलाई समसामयिक र व्यावहारिक बनाई उद्योग तथा व्यापारिक प्रतिष्ठानको माग सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन्।  

यसै सन्दर्भमा सूचना प्रविधि तथा सफ्टवेयर कम्पनीहरूको साझा संस्था ‘नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज’ (नास-आईटी)द्वारा यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा विषय विज्ञहरूले समयानुकुल दक्ष जनशक्ति उत्पादनका लागि नयाँ पाठ्यक्रम निर्माण गर्नुपर्ने खाँचो औँल्याए।  

सो अवसरमा नास-आईटीका अध्यक्ष गौरव पाण्डेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई समेत दृष्टिगत गरी सूचना प्रविधिसम्बन्धी विषयको पाठ्यक्रम तयार गर्नुपर्ने सुझावलाई आत्मसात् गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।   

अध्यक्ष पाण्डेले भने, 'उद्योगले खोजेअनुसारको सीप विद्यार्थीमा नहुँदा एकातिर विद्यार्थी बेरोजगार हुनुपर्ने र अर्कातिर उद्योगले जनशक्ति पाउन नसक्ने समस्याको अन्त्य गर्दै बजारको मागअनुसार जनशक्ति तयार गर्नेगरी पाठ्यक्रम निर्माण गर्न लागि परेका छौँ।'

नेपाल खुला विश्वविद्यालयको स्कुल अफ आईटीका प्रमुख डा भोजराज घिमिरेले नयाँ पाठ्यक्रममा एआई, डेटा साइन्स, ब्लकचेन, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षालगायत नयाँ विषयधहरू समावेश हुने जानकारी दिए।

कार्यक्रममा एआईले सूचना प्रविधि उद्योगलाई आमूल रूपमा रूपान्तरण गरिरहेको अवस्थामा नयाँ पाठ्यक्रममार्फत समस्या समाधान गर्ने क्षमता, डेटा बुझाइ, क्रिटिकल थिंकिङ र एआईसँग काम गर्नसक्ने क्षमता राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

नेपाल खुला विश्वविद्यालयसँगको सहकार्यसहित ‘स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी) र स्वीस कन्ट्याक्ट’को वित्तीय तथा प्राविधिक सहयोगमा नयाँ पाठ्क्रम निर्माण प्रक्रिया अघि बढेको हो। रासस


प्रकाशित : मंगलबार, जेठ ५ २०८३१६:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend