शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ ५ २०८३
पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पक्राउ परेका व्यक्तिलाई आवश्यक कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको र आजै झापा जिल्ला अदालतमा पेस गरिने बताइएको छ।

झापा- पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड ४४ लाख ६५ हजार रुपैयाँबराबरको ५ सय ७० ग्राम चौबीस क्यारेटको सुन र २० हजार अमेरिकी डलरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपालको २ नं हेडक्र्वाटरका प्रमुख अम्बिकाप्रसाद जोशीले सोमबार साँझ ५ः१० बजेतिर भारतको कोलकाता घर बताउने ३९ वर्षीय परम पाठकलाई काँकरभिट्टा भन्सारको चेकपोस्टमा जाँच गर्दा उक्त सुनसहित २० हजार अमेरिकी डलर (नेपाली ३० लाख ६५ हजार) र ८५ हजार ४१९ भारतीय रुपैयाँ (नेपाली एक लाख ३६ हजार ६५७) समेत बरामद गरिएको बताए।

पक्राउ परेका भारतीय नागरिकबाट सवारीचालक अनुमति, आधार कार्ड, भिभो मोबाइल, सामसुङ मोबाइल, हार्डडिस्क, सिम कार्ड, भिजा कार्ड र चेक बरामद भएको जनाइएको छ। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको र आजै झापा जिल्ला अदालतमा पेस गरिने बताइएको छ।

निज पाठक भारतको पानीटंकीनाकाबाट सिटी सफारी चढेर नेपालतर्फ आउँदै गर्दा भन्सारको जाँच क्रममा पक्राउ परेका थिए। सशस्त्र प्रहरी टोली र मेची भन्सार कार्यालयका कर्मचारीहरूले शंका लागेर संयुक्त जाँच गर्दा भारतीय नागरिक पाठकले बोकेको कालो झोलाभित्र अवैध सुन र विदेशी मुद्रा फेलापरेको थियो। रासस


प्रकाशित : मंगलबार, जेठ ५ २०८३१५:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend