काठमाडौं- सरकारी स्वामित्वको वीर अस्पतालमा अक्सिजन प्लान्ट बन्द भएको ५ वर्ष भइसकेको छ। अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालन गर्नुको सट्टा भारतबाट आयातित लिक्विड अक्सिजन ग्यास प्रयोग भइरहेको छ।
महालेखा परिक्षकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अक्सिजन प्लान्ट बिग्रिएमा ३ महिनाभित्र मर्मत सम्भार गर्नु पर्नेगरी अक्सिजन प्लान्टको सञ्चालन सार्वजनिक खरिद नियमावली अस्पतालले नै बनाएको छ। तर उक्त विषय कार्यान्वयनमा आउन सकेको छैन।
वीर अस्पतालमा २ वटा अक्सिजन प्लान्ट रहेको भए पनि अक्सिजन प्लान्ट सञ्चालन नगरी प्रत्येक वर्ष आवश्यक अक्सिजन आपूर्तिकर्ताबाट खरिद गरी प्रयोग गर्ने गरे विषयमा महालेखाले प्रश्न उठाएको छ।
वीर अस्पतालले एक कम्पनीसँग २०७३ असार ३१ मा २ करोड ३५ लाखमा अक्सिजन प्लान्ट विथ कण्टेनर खरिद सम्झौता गरेको थियो। आपूर्तिकर्तासँग भएको सम्झौतामा मेसिन जडान गरेको २ वर्षको वारेण्टी अवधिभित्र निःशुल्क सर्भिसिङ र वारेण्टीको अवधि सकिएपश्चात् १० वर्षसम्म स्पेयर पार्ट्स उपलब्ध गराउनुपर्ने उल्लेख भए तापनि नियमित मर्मत सम्भार नहुँदा २०७७ वैशाख २ गते देखि अक्सिजन प्लान्ट बन्द अवस्थामा रहेको छ।
प्लान्टको केही पार्ट्स खरिद गरी सञ्चालनमा ल्याउनको लागि १३ लाख ९० हजार रुपैयाँको लागत अनुमान स्वीकृत भए पनि सो कार्य अगाडि नबढेको हो। राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरे पश्चात् १ महिना सञ्चालन भएर हाल प्लान्ट बन्द छ।
यसैगरी नबिल बैंकले सहयोग गरेको अक्सिजन प्लान्टसमेत अस्पतालले बन्द गराएर राखेको छ। बैंकले २०७८ कात्तिक १ गते ८ करोड रूपैयाँको दैनिक १ सय ५० (४० लिटर क्षमताका) सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्ट हस्तान्तरण गरेकोमा हाल उक्त प्लान्ट समेत बन्द रहेको छ।
अस्पतालका दुबै प्लान्ट बन्द हुँदा एक वर्षमै १ सप्लायर्समार्फत ३ करोड ९४ हजारको लिक्विड अक्सिजन ग्याँस खरिद गरी भुक्तानी गरेको छ।
अस्पतालको प्लान्ट मर्मत गरी सञ्चालन नहुँदा अक्सिजन खरिदमा थप व्ययभार परेको एवं लामो समय मर्मत नहुँदा उपकरणमा थप क्षति पुग्ने र मूल्यमा हास हुँदै जाने हुँदा अक्सिजन प्लान्टहरू समयमै मर्मत सम्भार गरी पूर्ण क्षमतामा सञ्चालनमा ल्याई स्रोतको प्रभावकारी उपयोग गर्न महालेखाले अस्पतालाई सुझाव दिएको छ।


