शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

जडीबुटी प्रशोधन प्लान्ट अलपत्र

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ ५ २०८३
जडीबुटी प्रशोधन प्लान्ट अलपत्र

उनका अनुसार सुरुआती वर्षमा किसानले उत्पादित क्यामामाइल र मेन्था तेल प्रतिलिटर २५ हजारदेखि ४० हजार रुपैयाँसम्ममा बिक्री गरेका थिए।

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा स्थानीय बासिन्दाको आयआर्जन बढाउने उद्देश्यले दातृ निकायको सहयोगमा जडान गरिएका लाखौँ रुपैयाँ मूल्यका जडीबुटी प्रशोधन प्लान्ट बजार अभावका कारण अलपत्र परेका छन्। मध्यवर्ती क्षेत्रका किसानले जडीबुटी खेती गर्न छाडेपछि लाखौँ मूल्यपर्ने प्लान्ट अलपत्र अवस्थामा रहेका हुन्।

शुक्लाफाँटा नगरपालिका-६ को कसरौल, वडा नं. ७ जुडा र वडा नं ८ बेलडाँडीमा स्थापना गरिएका जडीबुटी प्रशोधन प्लान्ट सञ्चालनविहीन अवस्थामा रहेका छन्। मानव-वन्यजन्तु द्वन्द्व कम गर्दै निकुञ्ज आसपासका बासिन्दालाई वैकल्पिक आयआर्जनमा जोड्ने उद्देश्यले जडीबुटी खेती प्रवद्र्धन गरी प्लान्ट जडान गरिएको थियो। प्लान्ट राख्ने टहरासँगै दातृ निकायले जडीबुटी सुकाउने सेड हाउससमेत निर्माण गरेका थिए। सेड हाउससमेत जीर्ण अवस्थामा छन्।

मध्यवर्ती क्षेत्रको सुनदेवी उपभोक्ता समूहका अध्यक्ष भरतबहादुर विष्टका अनुसार वन्यजन्तुले नोक्सान नगर्ने भएकाले क्यामामाइल, मेन्थालगायत जडीबुटी खेतीलाई प्रोत्साहन गरिएको थियो। 'स्थानीयले प्रशोधन गरी तेल उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेका थिए', उनले भने।

उनका अनुसार सुरुआती वर्षमा किसानले उत्पादित क्यामामाइल र मेन्था तेल प्रतिलिटर २५ हजारदेखि ४० हजार रुपैयाँसम्ममा बिक्री गरेका थिए। व्यापारी घरमै आएर नगदमा तेल खरिद गर्न थालेपछि किसान उत्साहित हुँदै खेती विस्तारमा लागेका थिए।

त्यसपछि बजार मूल्य लगातार घट्दै गयो। व्यापारीले प्रतिलिटर १० हजार र पछि पाँच हजार रुपैयाँसम्म दिन बाध्य बनाए। 'तेस्रो वर्षमा त तेल किन्ने व्यापारी नै भेटिन छाडे', स्थानीय किसान जनक साउदले भने, 'लागतसमेत नउठ्ने अवस्था आएपछि खेती छाड्न बाध्य भयौँ।'

किसानका अनुसार प्रशोधित तेल एक वर्षसम्म घरमै थन्क्याएर राख्नुपरेको थियो। 'एकपटक नेपालगञ्ज पुर्‍याएर निकै सस्तो मूल्यमा बेचेर फर्किनुपर्‍यो', किसान जयबहादुर ऐरले भने। बजार व्यवस्थापन नहुँदा किसानले जडीबुटी खेती छाडेपछि करिब लाखौँ मूल्यका प्रशोधन प्लान्ट प्रयोगविहीन बनेका छन्। 

भरपर्दो बजार व्यवस्थापन र मूल्य सुनिश्चित हुने हो भने मध्यवर्ती क्षेत्रका किसान अझै पनि जडीबुटी खेती गर्न इच्छुक छन्। रासस 


प्रकाशित : मंगलबार, जेठ ५ २०८३११:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend