काठमाडौं- नेपालमा हालसम्म आएकामध्ये कोलगेट बाहेक कुनै पनि ठूला बहुराष्ट्रिय कम्पनी छाडेर गएका छैनन्। नेपालमै रहेका पनि पर्याप्त नाफा आर्जन गरिरहेका छन्। यस्तो हुँदा पनि थप बहुराष्ट्रिय कम्पनीको लगानी भने पछिल्लो दशकमा ठप्प जस्तै भएको छ।
नाफाका लागि उर्वर बजार हुँदा पनि किन लगानीकर्ता आएनन् भन्ने विषयमा विदेशी लगानीका भुक्तभोगीहरूल भने आधारभूत समस्या तथा यहाँ भएका कम्पनीले भोगिरहेका समस्याबाट तर्सिएर नआएको उनीहरूको भनाइ छ।
विश्वको आधा जनसंख्या भएको बजार एक घण्टाको दूरीमा भएको, सस्तो र स्वच्छ ऊर्जाको पहुँच र यहाँ भइरहेका कम्पनीले लिइरहेको नाफा हेर्दा पनि नेपाल विदेशी लगानीको उर्वर हुनुपर्ने भएपनि नभएको सुर्य नेपालका उपाध्यक्ष रवि केसीको भनाइ छ।
नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले उद्योगको प्रवेशमै बाधा तथा अड्चन रहेको बताउँछन्।
‘जग्गाको उपलब्धता, पहुँचमार्ग तथा ऊर्जाको उपलब्धतता र प्रशासनिक सहजीकरण र कर प्रशासनमा अनुमानयोग्य अवस्था अलि छैन। यस्तो हुँदा नयाँ लगानी आउन सकेको छैन’ केसी भन्छन्।
त्यस्तै नेपालमा विदेशी लगानीका कम्पनीमा लामो समयदेखि परामर्श सेवा दिइरहेका तथा सहभागी भएका सैबल घोषको अनुभव पनि यस्तै छ। नेपाली बजार लगानीका लागि उपयोगी भएपनि केही कारणले गर्दा यसमा लगानी आउन नसकेको उनको भनाइ छ।
नेपालमा करका दरमा धेरै समस्या नभएको, बजारको जोखिम पनि न्यून भएपनि केही नीतिगत विषयमा भएका अड्चनले गर्दा लगानी आउन नसकेको उनको भनाइ छ। रोयल्टी तथा प्राविधिक सहायता जस्ता विषयमा हुने खर्चको सीमा जस्ता विषयमा उद्योग अनुसार फरक रुल हुनुपर्ने जस्ता सामान्य सुधार नै नभएको उनको भनाइ छ।
‘कुनै पनि विदेशी लगानीको यहाँको कम्पनीले तिर्ने रोयल्टी तथा प्रावधिक सेवाको उपयोगमा गर्ने खर्च पनि उद्योग अनुसार फरक हुनपर्छ भन्ने जस्तो सामान्य सुधार अझैसम्म भएको छैन। यस्ता अरु नीतिगत व्यवस्था पनि सुधारको आवश्यकता छ’ उनको भनाइ छ।
त्यस्तै नेपालको विदेशी लगानीका कानूनी तथा प्रशासनिक अवस्थाको बारेमा जानकार अधिवक्ता सेमन्त दाहाल भने लगानीका लागि धेरै केही अनुकुलता भएपनि अवरोध र सुरक्षाको प्रत्याभूति हुन नसेका कारण लगानी आकर्षित हुन नसकेको बताउँछन्।
‘पुँजी सँधै संवेदनशील हुन्छ। यसले सँधै सुरक्षा खोज्छ। त्रासरहित वातावरणको खोजी यसले गर्छ। यी सबै कुरा भएपछिमात्र पुँजी प्रवाह हुन् जसको ग्यारेन्टी नेपालले अझै गरेको छैन’ उनले भने।


