शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

निर्माण व्यवसायी भन्छन् - सरकारले अमानवीय व्यवहार गर्‍यो, मूल्य समायोजन नभए काम गर्न सक्दैनौँ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ४ २०८३
निर्माण व्यवसायी भन्छन् - सरकारले अमानवीय व्यवहार गर्‍यो, मूल्य समायोजन नभए काम गर्न सक्दैनौँ

आयोजना प्रमुख तथा सरकारी कर्मचारीहरूले निर्माण व्यवसायीलाई मूल्यवृद्धिअनुसार मूल्य समायोजन दिनुपर्छ भनेर आवाज नउठाएको समेत उनले बताए।

काठमाडौं- निर्माण व्यवसायी महासंघका महासंचिव शिवहरी घिमिरेले निर्माण व्यवसायीमाथि सरकारले अमानवीय व्यवहार गरिरहेको आरोप लगाएका छन्।

खानेपानी तथा ढल व्यवस्थापन विभागलाई ज्ञापनपत्र बुझाउन पुगेका घिमिरेले सरकारी निकायले निर्माण व्यवसायीलाई काम गर्न दबाब दिँदै बैंक ग्यारेन्टी तान्ने चेतावनीसमेत दिइरहेको बताए।

उनका अनुसार सरकारी अधिकारीहरुले जसरी भएपनि काम गर, नगरे बैंक ग्यारेन्टी तानिन्छ भन्ने दबाब दिइरहेका छन्। यो अमानवीय व्यवहार रहेको उनको भनाइ छ ।

मूल्यवृद्धिअनुसारको मूल्य समायोजन नभएसम्म निर्माण व्यवसायीले काम गर्न नसक्ने अवस्था रहेको बताउँदै घिमिरेले सरकारले मूल्य समायोजन, म्याद थप, बैंक ग्यारेन्टी र इन्स्योरेन्सलगायतका विषय तत्काल सम्बोधन गर्नुपर्ने बताए।

सरकारसँग भएको वार्तामा मूल्य समायोजन दिने आश्वासन दिइए पनि सरकारी अधिकारीहरूबाट त्यसबारे स्पष्ट प्रतिवद्धता नआएको उनको गुनासो छ। आयोजना प्रमुख तथा सरकारी कर्मचारीहरूले निर्माण व्यवसायीलाई मूल्यवृद्धिअनुसार मूल्य समायोजन दिनुपर्छ भनेर आवाज नउठाएको समेत उनले बताए।

‘नेपाल सरकारका अधिकारीहरूमध्ये कसैले पनि स्पष्ट रूपमा मूल्य संमायोजनको प्रतिवद्धता व्यक्त गर्नुभएको छैन। आयोजना प्रमुखलगायत सरकारी कर्मचारीहरूले पनि निर्माण व्यवसायीलाई मूल्यवृद्धिका कारण मूल्य समायोजन दिनुपर्छ भनेर आवाज उठाएको मैले देखेको छैन। बरु, उहाँहरूले उल्टै ‘काम गर्नुपर्छ, जसरी भएपनि काम गर। काम गरेनौ भने बैंक ग्यारेन्टी तानिदिन्छौँ’ भन्ने दबाब दिइरहनुभएको छ' महासचिव घिमिरेले भने.

'तिमीहरूको मेसिनमा रगत हालेर भए पनि काम गर भन्ने शैलीमा अत्यन्त क्रुर र अमानवीय तरिकाले काम गर्न बाध्य पारिएको छ। यस्तो अवस्थामा कसैले पनि काम गर्न सक्दैन। जबसम्म मूल्यवृद्धिअनुसारको मूल्य समायोजन हुँदैन, तबसम्म काम गर्ने अवस्था छैन। निर्माण व्यवसायीप्रति गरिएको यो व्यवहार आक्रामक र अन्यायपूर्ण छ। मूल्य समायोजन पनि नदिने, अनि काम गर्न पनि दबाब दिने अवस्थामा निर्माण व्यवसायीले कसरी काम गर्न सक्छ?’ उनले प्रश्न गरे।

यसअघि सडक विभाग तथा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पनि ज्ञापनपत्र बुझाइसकिएको उनले जानकारी दिए। साथै ७७ वटै जिल्ला र सातै प्रदेशमा समेत निर्माण व्यवसायीहरूले निरन्तररूपमा ज्ञापनपत्र बुझाउने कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ।


प्रकाशित : सोमबार, जेठ ४ २०८३११:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend