काठमाडौै- वर्षायाम सुरु भएसँगै हुम्लाको सिमकोट हुँदै कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्न थालेको छ।
सिजन सुरु भएपछि नेपालगन्ज–सिमकोट हवाईमार्ग प्रयोग गरी हिल्सा नाका हुँदै चीनतर्फ जाने तीर्थयात्री चार दिनमै १६९ जना सिमकोट आइपुगेका छन्। सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहका अनुसार वैशाख ३० गतेदेखि सुरु भएको यात्रामा हालसम्म १४७ भारतीय र अन्य देशका २२ जना पर्यटक सिमकोट पुगेका हुन्।
प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै समिट एयरले तीन उडानमार्फत ४७ तीर्थयात्री सिमकोट पुर्याएको छ। तर कैलाश मानसरोवर जाने अनुमति (परमिट) नआएका कारण शनिबार आएका २३ भारतीय तीर्थयात्री सिमकोटमै रोकिएका छन्।
गत चैत २१ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले परमिट प्रक्रियामा ढिलाइ भएको जनाइएको छ।
हुम्ला हुँदै कैलाश मानसरोवर जाने पर्यटकको सङ्ख्या आगामी दिनमा अझ बढ्ने अपेक्षा गरिएको छ। विसं २०७२ को भूकम्पपछि भारतीय तीर्थयात्रीले हिल्सा नाका प्रयोग गर्न थालेका थिए।
कोरोना महामारीका क्रममा हिल्सा नाका बन्द भएपछि केही वर्ष यात्रा अवरुद्ध भएको थियो। तर चीन सरकारले गत वर्षदेखि पुनः भारतीय तीर्थयात्रीलाई हिल्सा नाका हुँदै मानसरोवर यात्रा गर्न अनुमति दिएपछि पर्यटक आगमन बढेको हो।
गत वर्ष चार महिनाको अवधिमा मात्रै करिब ६ हजार ५०० भारतीय तीर्थयात्रीले हुम्ला हुँदै कैलाश मानसरोवर यात्रा गरेका थिए। यस वर्ष भने वैशाख ३० गते पहिलो टोली सिमकोट आइपुगेको थियो। रासस


